पपुवा न्युगिनीमा महिला र बालबालिकासहित कम्तीमा २६ जनाको सामूहिक हत्या भएको छ । पूर्वी सेपिक प्रान्तमा भएको झडपमा उनीहरूको ज्यान गएको स्थानीय सञ्चारमाध्यमले बुधबार जनाएका छन् ।
समाचार संस्था नेसनलका अनुसार प्रान्तको अङ्गोरम क्षेत्रको सेपिक नदी किनारमा रहेका तामारा, ताम्बरी र अग्रुमारा गाउँहरूमा भएको झडपले हत्या, बलात्कार र सम्पत्तिको विनाशको अवस्था निम्त्याएको हो ।
३० जनाभन्दा बढी स्थानीय युवाहरूलाई उक्त घटनाको दोषी ठहराइएको नेसनलले जनाएको छ । सामूहिक हत्या र सम्पत्ति विनाश हुने गरी भएको झडप भूमि विवादसँग सम्बन्धित रहेको अङ्गोरमका सांसद सालियो वाइपोले जानकारी दिएका छन् ।
वाइपोले ३३ जना संदिग्ध आक्रमणकरीहरूको पहिचान गरिएको र अनुसन्धानका लागि प्रहरी टोली तैनाथ गरिएको खुलासा गरे ।
उनले पीडितका परिवारलाई शान्त रहन आह्वान गर्दै आवश्यक सहयोगका लागि तोकिएको प्रहरी अधिकारीसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।
पपुवा न्युगिनीको उत्तरपूर्वी तटमा अवस्थित ४३ हजार वर्ग किलोमिटरमा फैलिएको पूर्वी सेपिक प्रान्तको अनुमानित जनसङ्ख्या चार लाख ३३ हजार ४८१ रहेको छ ।