जग्गा सम्बन्धी विवाद भएपछि पूर्वराज्यमन्त्री रायकै कामदारलाई आर्थिक प्रलोभन दिएर हत्या गर्न लगाइएको खुलासा
पूर्वराज्यमन्त्री रामचन्द्र रायको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा रायकै घरमा काम गर्ने सर्लाहीको कविलासी नगरपालिकाका २५ वर्षीय राम उजैन राय र चन्द्रपुर गाउँपालिकाका ४६ वर्षीय वीरेन्द्र राय छन् ।
उनीहरूले पूर्वराज्यमन्त्री रायको हत्यामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दिपक श्रेष्ठले जानकारी दिए । दुवैजना माथि कर्तव्यज्यान मुद्दामा सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको डीएसपी श्रेष्ठले बताए ।
गत साउन ७ गते राति सर्लाहीको चन्द्रपुर गाउँपालिका १ रतनपुरमा पूर्व भूमिसुधार राज्यमन्त्री रायको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।
पूर्वराज्यमन्त्री रायको हत्या जग्गा सम्बन्धी विवाद र आर्थिक प्रलोभनको कारण कामदार राम उज्जैनले गरेको प्रहरीको निष्कर्ष छ । प्रहरीका अनुसार करिब १ महिना अगाडि पूर्वराज्यमन्त्री रायका छिमेकी वीरेन्द्रले राम उजैनलाई रायको घर जग्गाको नक्सा मागेर फोटो, भिडियो बनाएका थिए ।
रायको पक्की घर आफ्नो जग्गा ओगटेर बनाएको वीरेन्द्रले आरोप लगाउँदै आएका थिए । घटनाको केही दिनअघि मात्र रायको हत्या गर्न वीरेन्द्रले राम उजैनलाई २ लाख रुपैयाँ र व्यवसायको लागि एउटा फर्मसमेत बनाइदिने प्रलोभन दिएको घटनाको अनुसन्धानबाट खुलेको छ ।