भारतको दक्षिणी राज्य केरलामा मङ्गलबार भारी वर्षापछिको पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या १५१ पुगेको छ । साथै घाइतेको सङ्ख्या ७० पुगेको स्थानीय प्रहरीले बताएको छ ।
त्यस्तै २०२ जना बेपत्ता भएका छन् । केरलाको वायनाड जिल्लाको मेपाडी क्षेत्रमा बिहान २ बजेतिर कम्तीमा तीन वटा ठूलो पहिरो खसेको थियो । भारी वर्षाको बिचमा पनि उद्धार कार्य जारी छ । प्रभावित क्षेत्रहरूलाई नजिकैको शहर चोरलमालासँग जोड्ने वायनाड जिल्लाको एउटा पुल बगेको छ ।
भारतीय सेनाले प्रभावित क्षेत्रमा मेडिकल टोलीसहित २२५ कर्मचारी तैनाथ गरेको जनाएको छ । उद्धारका लागि भारतीय वायुसेनाका दुई हेलिकोप्टर परिचालन गरिएको छ ।
प्रधानमन्त्री कार्यालयले प्रत्येक मृतकका परिवारलाई दुई लाख भारतीय रुपैयाँ र प्रत्येक घाइतेलाई ५० हजार भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ ।