प्रेमिकालाई विदेश जान रोक्न भन्दै ६ वर्षीया बालिकाको अपहरण, तीन जना पक्राउ

प्रहरीले ६ वर्षीया बालिका अपहरण कार्यमा संलग्न तीन जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ । मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्दार गरेको थियो ।

सुनसरीको दुहवी नगरपालिकास्थित मामा घरको आँगनमा खेलिरहेकी बालिकालाई अपहरण गर्ने मोरङ विराटनगर महानगरपालिका ६ बस्ने ५० वर्षीय सञ्जय पासवान, कटहरी गाउँपालिका ६ घर भई विराटनगर १० बस्ने ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सुरुमा ती बालिकालाई सञ्जयले जबर्जस्ती उठाएर लगेको प्रहरीको दाबी छ । लगत्तै परिवारले खोजतलास गरी पाउँ भन्दै इलाका प्रहरी कार्यालय दुहवीमा निवेदन दिएका थिए ।

बालिकाको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङरसुनसरी र इलाका प्रहरी कार्यालय दुहवीबाट संयुक्त रूपमा खटिएको प्रहरी अधिकृतको टोलीले बुधबार उद्धार गरेको हो । बालिकालाई विराटनगर १० स्थित कलानन्द र सरिताको डेरामा बन्धक बनाइराखेको अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यलय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

पक्राउ परेका तीनै जनालाई सुनसरी जिल्ला अदालतबाट बिहीबार पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालिकाको ठूलीआमा र अपहरणमा संलग्न सञ्जयबीच प्रेम सम्बन्ध छ । प्रेमिकालाई विदेश जान दिन उनी तयार थिएनन् ।

बालिकाको ठूलीआमा वैदेशिक रोजगारीमा जानका लागि काठमाडौं गएको हुनाले अपहरणपछि बालिकाको मामालाई फोन गरेर सञ्जयले दिदी (बालिकाको ठूलीआमा)लाई फिर्ता बोलाउन भनेका थिए । फिर्ता नबोलाए बालिका अरुलाई नै दिने भन्दै धम्की दिएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार