सल्यान श्रीनगर घर भई हाल दाङ तुलसीपुर उपमहानगरपालिका–१६ भलै निवासी लालबहादुर वलीका दुवै आँखा जनयुद्धमा गुमे । विसं २०६० तिर प्रहरीले करेन्ट लगाउँदा उनले आँखा गुमाउनुपरेको हो ।
वलीले साहाराका लागि २०६२ सालमा सल्यान छत्रेश्वरी गाउँपालिका–१ दमाचौरकी शान्तासँग बिहे गरे । शान्ता पनि वलीसँग बिहे गर्न तयार भइन् । दुःखसुख गरेर दिनचर्या चलेकै थियो तर एक महिनाअघिदेखि श्रीमती शान्ता पनि थलिएकी छन् । सहारा दिने श्रीमती नै थला परेपछि वली परिवार अचेल निकै समस्यामा छ ।
पेटको क्यान्सरका कारण थला परेकी शान्ताको हाल सुशील कोइराला मेमोरियल अस्पताल खजुरामा उपचार भइरहेको छ तर आर्थिक अभाव हुँदा उपचारमा समस्या भइरहे लालबहादुरले बताए । श्रीमती नै बिरामी परेपछि घरमा १७ वर्षीय छोरा र आफू साहाराविहीन भएको उनको दुःखेसो छ ।
वली परिवारको अवस्था नजिकबाट बुझेकी स्थानीय बालिका बुढाथोकीले आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको जानकारी दिइन् । ‘लालबहादुरका दुवै आँखा गुमेपछि सहाराका लागि बिहे गर्नुभएको थियो, अहिले श्रीमती नै बिरामी पर्दा उहाँहरू बेसहारा हुनुभएको छ’, बुढाथोकीले भनिन् ।
उनका अनुसार अहिलेसम्म उपचारमा करिब रु १२ लाख खर्च भइसकेको छ, अझै रु १८ लाख खर्च हुने चिकित्सकले अनुमान गरेका छन् । सोहीअनुसार रकम जम्मा गर्न भने पनि वली परिवारसँग कुनै विकल्प छैन ।
‘एक महिनाअघि श्रीमतीमा क्यान्सर भएको पत्ता लाग्यो, श्रीमान्को २०६० सालमै आँखा गुमिसकेका छन् । आम्दानीको कुनै स्रोत नभएपछि उहाँहरू समस्यामा हुनुहुन्छ । हामीले उहाँको उपचारमा सहयोगका लागि सबैलाई अनुरोध गरिरहेका छौँ’, उनले सुनाइन् । आफूले काम गर्न नसक्ने र आर्थिक आम्दानीको कुनै स्रोत नभएकाले उपचारमा निकै असहज भएको श्रीमान् लालबहादुरले बताए ।
‘पहिले मलाई स्याहार गरिन्, दुःखमा साथ दिइन् । परिवारको सहारा श्रीमती नै थला परेपछि अहिले हातमुख जोर्न पनि समस्या छ । भएको जायजेथा बेचेर, ऋण काँडेर भए पनि अहिलेसम्म रु १२ लाखजति खर्च भइसक्यो तर सञ्चो भएको छैन । आर्थिक अवस्थाले थप उपचार गर्नसक्ने अवस्था छैन’, उनले दुःखेसो पोखे ।