चालक निदाएपछि बससँग ठोक्कियो कार, सात जनाको मृत्यु

भारतको उत्तर प्रदेशको इटावामा बस र कार ठोक्किएर दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २५ जना घाइते भएका छन् ।

गएराति पौने १ बजे आगराबाट लखनउ जाँदै गरेको कार र रायबरेलीबाट दिल्ली जाँदै गरेको डबल डेकर बस इटावाको एक्सप्रेस वेको १२९ माइलस्टोन नजिक आपसमा ठोक्किएको हो ।

इटावाका एसएसपी कुमार बर्माका अनुसार कार आफ्नो लेन छाडेर बस आउने लेनतर्फ गएपछि दुर्घटना भएको हो । दुर्घटनाको प्रकृति हेर्दा कार चालक निदाएका कारण विपरीत लेनमा पुगेको हुनसक्ने एसएसपी बर्मालाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।

दुर्घटनामा कारमा सवार तीनै जना र बसमा सवार चार जनाको मृत्य भएको एसएसपी बर्माले बताएका छन् । ठक्करका कारण बस अनियन्त्रित भएर सडकबाट झरेको थियो ।

प्रहरीका अनुसार बसमा ६० जना यात्रु सवार थिए ।

सम्बन्धित समाचार