संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका नेपालीहरुले मादक पदार्थ सेवन गरेर झगडा गर्ने प्रवृत्ति बढ्न थालेको भन्दै अबुधाबीस्थित नेपाली राजदूतावासले ध्यानाकर्षण गराएको छ ।
युएईस्थित नेपाली दूतावासले साउन २२ गते सूचना जारी गर्दै नेपालीहरूलाई सद्भावना कायम गरी आफू बस्ने र काम गर्ने ठाउँमा सभ्य व्यवहार प्रदर्शन गर्न भनेको हो ।
‘नेपालीहरूले मादक पदार्थ सेवन गरी झैझगडा गर्ने प्रवृत्ति बढेको जानकारी यहाँको सम्बन्धित निकायबाट प्राप्त हुन आएको हुँदा यसतर्फ सचेत रहन सम्बन्धित सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ । नेपाली राजदूतावास परिसर बाहिर पनि मापसे गरी वा नगरी हुलहुज्जत गर्ने, अराजक व्यवहार प्रदर्शन गर्ने, दूतावासको सुरक्षामा तैनाथ सुरक्षाकर्मीहरूलाई अपशब्द प्रयोग गरी गाली गर्ने गरेको पाइएको पनि सूचनामा उल्लेख छ ।
यस्तो कार्य गर्नेलाई पनि युएई प्रहरीले कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । ‘यूएईको ऐन, कानुन, नियम मूल्यमान्यताको पूर्ण पालना गरी सोहीअनुरुप व्यवहार गरिदिनुहुन यूएईमा बस्नुहुने सम्पूर्णमा राजदूतावास हार्दिक अनुरोध गर्दछ’, दूतावासले भनेको छ ।