माइत बसेकी श्रीमतीलाई मिलेर बस्ने भन्दै घर बोलाएर हत्या, ५८ वर्षीय लक्ष्मण पक्राउ

मोरङमा श्रीमानले श्रीमतीको वीभत्स हत्या गरेका छन् । सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाका ५८ वर्षीय लक्ष्मण नेपालले श्रीमती ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या गरेका हुन् ।

लक्ष्मणले आइतबार बिहान ११ बजेतिर खुकुरीले श्रीमतीको शरीरका विभिन्न भागमा अन्धाधुन्ध प्रहार गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । उनका अनुसार श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी पवित्रालाई उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । उपचारका क्रममा १२ बजेतिर चिकित्सकले मृत घोषित गरेको बस्नेतले जानकारी दिए । खुकुरी प्रहारबाट पवित्राको टाउको, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको थियो ।

प्रहरीका अनुसार नेपाल दम्पतीले किनेको १६ धुर जग्गा किनेर पवित्राको नाममा थियो । दुई जनाबीच झगडा भएपछि एक अर्काविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

लक्ष्मणले अदालतमा जग्गा रोक्कासम्बन्धी मुद्दा हालेका थिए । पवित्राले घरेलु हिंसा र मानाचामल सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् । तर अदालतले दुवैलाई मिलापत्र गराएको थियो ।

मिलापत्रपछि पनि माइत बसेकी श्रीमतीलाई मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएर आइतबार खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । पत्नीको हत्यामा संलग्न भएको आरोपमा लक्ष्मणलाई घरबाटै पक्राउ गरेको डीएसपी बस्नेतले बताए ।

प्रहरीका अनुसार पवित्रा लक्ष्मणकी कान्छी श्रीमती हुन् । जेठी श्रीमतीसँग सम्बन्ध बिग्रिएपछि उनले दोस्रो बिहे गरेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार