भक्तपुरको गट्ठाघरमा भएको दुर्घटनामा ज्यान जाने महिलाको पहिचान फरक परेपछि प्रहरीले पुनः सनाखतको प्रक्रिया थालेको छ। बिहीबार गठ्ठाघर दुर्घटनामा परी मृत्यु भएको शव सुष्मा नेपालीको नभएको पुष्टि भएको हो। यसअघि दोलखाको मेलुङ गाउँपालिका ४ का शम्भु नेपालीले प्रहरी कार्यालयमा पुगेर आफ्नी बहिनी भएको जानकारी दिएपछि प्रहरीले त्यही विवरण सार्वजनिक गरेको थियो। तर उनले गलत जानकारी दिएको खुलेको छ। यसअघि पनि उनले पटकपटक आफ्नी बहिनीको मृत्यु भएको भनेर जानकारी दिएको खुलेको छ।
घटनामा दोलखाको मेलुङ–४ की २३ वर्षीय सुस्मा नेपालीको मृत्यु भएको भनेर खबर फैलिएपछि सुस्मा नेपाली नै नाम गरेकी युवतीले प्रहरीलाई सम्पर्क गरेर घटना भएको मान्छे आफू नरहेको बताएकी थिइन् ।‘ शवको सनाखत भएको छैन। अघि घटना भएपछि एक जनाले मेरो बहिनी सुष्मा नेपाली हो भन्दै आएका थिए। कपडा र चप्पलले गर्दा कन्फ्युज भएको होला, हामीले उनलाई सोधपुछ गरिरहेका छौं,’जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले भने, ‘दुर्घटनामा परेकी भनिएकी सुष्मा नेपाली नै हाम्रो सम्पर्कमा आएर आफ्नो परिचय खुलाएकी हुन् ।’
दुर्घटनामा परेको स्कुटरको सवारी दर्ता किताब (ब्ल्युबुक) ओखलढुंगाका उत्तम सिलवालको नाममा रहेको पाइएको छ। यस्तै दुर्घटनास्थलमा रमेश न्यौपानेको नाममा ट्राफिकले काटेको चिट पनि फेला परेको छ।
यसअघि पहिचान भएको भनिएको व्यक्ति नभएको सूचना प्राप्त भएसँगै मृतकको सनाखत गर्ने प्रयास भइरहेको डिएसपी कार्कीले बताए ।
भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ गट्ठाघरमामा बिहीबार दिउँसो १:४० बजे ना ६ ख २१७३ नम्बरको ट्रकले बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ।
घटनापछि आक्रोशित स्थानीयले ट्रकमा तोडफोड गर्नुका साथै गठ्ठाघरमा मूल सडक अवरुद्ध पारेर प्रदर्शन गरे । स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास हानेको थियो । घटनाको तीन घण्टापछि प्रहरीले शव निकालेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाएको छ ।
दुर्घटनापछि स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौंका टोली र सशस्त्र प्रहरी बलको टोली समेत परिचालन गरिएको थियो ।
करिब दुई हजारको हाराहारीमा जम्मा भएको भीडले गठ्ठाघर चोकको ट्राफिक आइल्याण्ड समेत तोडफोड गरेको थियो । बिहीबार साँझ अबेर मात्र गठ्ठाघर क्षेत्र सामान्य बनेको थियो । प्रदर्शनकारीले सडकमा जथाभावी गाडी रोकेर चेकजाँच गर्दा दुर्घटना भएको भन्दै प्रहरीविरुद्ध आक्रोश पोखेका थिए । ट्रकले ट्राफिक चेकिङमा रोकिराखेको स्कुटरलाई करिब एक सय मिटर परसम्म घिसारेको थियो।