अफ्रिका बाहिर पहिलोपटक एमपक्स (पहिलेको नाम मंकीपक्स) संक्रमण पुष्टि भएको छ ।
स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले संक्रमित व्यक्तिलाई अफ्रिकामा बस्दा एमपोक्स भएको जनाएको छ ।
अफ्रिकाका केही भागमा एमपोक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सार्वजनिक स्वास्थ्य आपत्काल घोषणा गरेको छ ।
स्विडेनको पब्लिक हेल्थ एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार संक्रमित व्यक्तिले स्टकहोममा उपचार गराउन आग्रह गरेका थिए ताकि अन्य व्यक्तिमा संक्रमण सर्न नपाओस् ।
हाल यो रोग मध्य र पूर्वी अफ्रिकामा तीव्र गतिमा फैलिरहेको छ । वैज्ञानिकले रोगको द्रुत रूपमा फैलिरहेको नयाँ प्रकार (भेरिएन्ट) र उच्च मृत्युदरप्रति चिन्ता व्यक्त गरेका छन् ।
एमपक्स व्यक्तिहरूबीचको नजिकको सम्पर्कबाट फैलिन सक्छ । शारीरिक सम्पर्क, स्पर्श, एकार्काको नजिक सास फेर्दा यो रोग सर्ने सम्भावना हुन्छ ।
यो रोगका लक्षणमा अचानक ज्वरो आउने, टाउको, शरीर, घाँटी दुख्ने, घाँटी र बंगारामुनि ग्रन्थी बढ्ने, अनुहार, हत्केला, खुट्टाको पैताला, गुप्तांग र शरीरका अरू भागमा सुरुमा पानीका फोका देखिने र पछि पाक्ने र पिप जम्ने समस्या देखिएको डब्ल्यूएचओले जनाएको छ ।
यो रोगबाट पीडित १०० मध्ये चारजनाको मृत्यु हुन्छ ।