क्याटालन जायन्ट बार्सिलोनाले स्पेनिस ला लिगा २०२४–२५ मा विजयी सुरुआत गरेको छ । शनिबार राति भएको खेलमा भ्यालेन्सियाविरुद्ध १–० ले पछि परेको अवस्था उल्ट्याउँदै २–१ को जित निकालेको हो ।
बार्सिलोनालाई जित दिलाउन दुवै गोल रोबर्ट लेवान्डोवस्कीले गरे । मेस्टालामा भएको खेलमा भ्यालेन्सियाले ४४औँ मिनेटमा अग्रता बनाएको थियो । ह्युगो डुरोको गोलमा अग्रता बनाए पनि भ्यालेन्सियाले यसलाई लामो समय कायम राख्न भने सकेन ।
पहिलो हाफकै इन्जुरी समयमा रोबर्ट लेवान्डोवस्कीले गोल गरेपछि बार्सिलोना खेलमा फर्किएको थियो । ४९औँ मिनेटमा लेवान्डोवस्कीकै गोलमा बार्सिलोनाले अग्रतालाई २–१ को स्थितिमा राख्यो । यही गोल निर्णायक बन्दा बार्सिलोना नयाँ सिजनको पहिलो खेलमै तीन अंक सुनिश्चित गरेको हो ।
जितसँगै तीन अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा छ । पहिलो खेलमै पराजित भ्यालेन्सिया भने तालिकाको पुछारमा छ ।