सेन्सरसिप विवादपछि एक्स(ट्विटर) ले ब्राजिलस्थित आफ्नो कार्यालय बन्द गरेको छ । ब्राजिली सर्वोच्च अदालतका न्यायाधीश अलेक्सान्द्रे डी मोरेसले आफ्ना प्रतिनिधिलाई पक्राउ गर्ने धम्की दिएपछि कार्यालय बन्द गरिएको एक्सले जनाएको छ ।
ब्राजिली न्यायाधीशले अघोषित रूपमा एक्सका पोस्टहरूमाथि सेन्सरसिप लगाएको एक्सका मालिक इलन मस्कले आरोप लगाएका छन् । साथै एक्स चलाउने व्यक्तिका निजी सूचनासमेत दिन न्यायाधीशले दबाब दिएको उनको भनाइ छ । यसबारे ब्राजिली अदालतले भने केही टिप्पणी गरेको छैन । कार्यालय बन्द गरिए पनि ब्राजिली नागरिकले भने एक्स चलाउन सक्ने मस्कले जनाएका छन् ।
न्यायाधीश मोरेसले भ्रामक सूचनाहरू फैलाएको भन्दै केही एक्स-खाताहरू बन्द गर्न आदेश दिएका थिए । पूर्वराष्ट्रपतिसमेत रहेका दक्षिणपन्थी नेता जायर बोल्सानारोका समर्थकका खाताहरू निगरानीमा रहेकाले बन्द गरिनुपर्ने उनको भनाइ थियो ।
एक्सका मालिक मस्कले आलोचना गरेपछि न्यायाधीश मोरेसले बन्द गरिएका एकाउन्टहरू पुन: सक्रिय बनाइए दिनको १ लाख रियल(१९ हजार ७ सय ७४ अमेरिकी डलर) जरिवाना लगाइने आदेश दिएका थिए । त्यस्तै न्यायिक प्रक्रियामा अवरोध गरेकोमा समेत मस्कमाथि अनुसन्धान गर्न न्यायाधीश मोरेसले आदेश दिएका थिए ।