अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले फिफा विश्वकप छनोटअन्तर्गतका दुई खेल गुमाउने भएका छन् । चोटका कारण हाल मैदानबाट बाहिर रहेका मेस्सीले विश्वकप छनोटअन्तर्गत हुने चिली र कोलम्बियासँगको खेल गुमाउने भएका हुन् ।
यी दुई खेलका लागि अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कालोनीले घोषणा गरेको २८ सदस्यीय टिममा मेस्सी अटाएका छैनन् । मेस्सी अझै एन्कल इन्जुरीबाट पूर्ण फिट भइसकेका छैनन् । उनी कोपा अमेरिकाको फाइनलमा कोलम्बियाविरुद्ध घाइते भएका थिए । फाइनलमा चोटकै कारण मेसीले पूरा समय नखेली मैदान छाडेका थिए ।
स्कालोनीले घोषणा गरेको टिममा कोपा अमेरिकापछि अर्जेन्टिनी टिमबाट बाहिर रहेका मिडफिल्डर एन्जल डी मारिया पनि समावेश भएका छैनन् । विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना ६ खेल खेल्दा १५ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ । छनोटमा अर्जेन्टिनाले चिलीसँग सेप्टेम्बर ६ मा र कोलम्बियासँग सेप्टेम्बर ११ मा खेल्ने तालिका छ ।