नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबारको तुलनामा छापावाल सुन ८०० रुपैयाँले बढेको हो । मंगलबार एक लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज सुनको मूल्यले भदौ २ गतेको उच्च मूल्यको रेकर्ड तोडेको हो । भदौ २ गते एक लाख ५२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी प्रतितोला एक हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार एक हजार ८२० रुपैयाँमा कारोबार भएको थियो ।