खराब मौसमका कारण आन्तरिक र अन्तर्राष्ट्रिय उडान प्रभावित

प्रतिकूल मौसमका कारण मुलुकभरका विमानस्थलमा उडान प्रभावित भएको छ । खराब मौसम तथा कम भिजिबिलिटीका कारण आन्तरिक र अन्तर्राष्ट्रिय दुवै उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार निरन्तरको वर्षाले केही उडान प्रभावित भएका छन् । मौसम खराब रहेकाले भिजिबिलिटी कमजोर हुँदा पोखरामा उडान स्थगित गरिएको छ । जनकपुर र सिमरा विमानस्थलमा समयमा उडान हुन सकेका छैनन् ।

अन्तर्राष्ट्रियतर्फ एयर चाइनाको विमान ‘डाइभर्ट’ भएको छ । बिहान १०ः५५ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका रहेको उक्त विमान खराब मौसमका कारण ‘डाइभर्ट’ भएको हो ।

अन्तर्राष्ट्रिय उडानका अन्य विमान केहीबेर ‘होल्ड’ भए पनि अहिले अवतरण हुन थालेको विमानस्थलका महाप्रबन्धक निरौलाले जानकारी दिए ।

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार खराब मौसमका कारण पोखरा विमानस्थलमा उडान स्थगित गरिएको छ । भरतपुर विमानस्थलमा भिजिबिलिटी कम हुँदा उडान हुन सकेको छैन । सुर्खेत विमानस्थलमा खराब मौसमका कारण बुद्ध एयरको विमान आज बिहान नेपालगञ्ज ‘डाइभर्ट’ भएको थियो । मौसमकै कारण मंगलबार पनि पोखरा विमानस्थलको उडान प्रभावित भएको थियो ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रहेको जनाएको छ ।

कोसी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार