रुकुम पूर्वको भूमे गाउँपालिका–२ खाबाङदेखि सुरु भएको यात्रा मध्यपहाडी लोकमार्ग र सहिद मार्गको संगमस्थलमा रहेको पहाडी भूगोलमा काँक्रीको आफ्नै ऐतिहासिक, भौगोलिक, धार्मिक, राजनीतिक र सामाजिक महत्त्व तथा विशेषता छुट्टै रहेको छ ।
साउनको महिना सिमसिमे पानी परिरहेको रहेको थियो । यात्रा अगाडि बढ्दै रहेको थियो । आजभोलि लेकाली भाग अत्यन्तै रमणीय बुकी चौँरी लेकको यात्रा तय हुन्छ । प्राकृतिक तथा भौगोलिक सुन्दरताले भरिपूर्ण पर्यटनको राम्रो आधार क्षेत्र जसलाई पर्यटन प्रवर्द्धन गर्न भूमे गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटकको लागि सहज होस् भनेर रुकुम पूर्व र बागलुङको सिमाना पातीहाल्ने देखि कोइपाबासम्म मोटर बाटो सहज बनाएको छ ।
सिमसिमे पानीसँगै माडिएको कुहिरोमा रंगीविरंगी फूलहरू निहाल्दै पुगिन्छ चौँरी लेक, त्यहाँ पुग्ने बित्तिकै मन मान्दैन चारै तिर नहेरी फूल देखेपछि सबैको मन हुरुक्क हुन्छ । चुमौचुमौ र रमणीय ठाउँमा फूलको वरिपरि डुलिरहेका माहुरी पुतलीको दृश्य अवलोकन गर्दै गर्दा क्यामेराले पुतली र फूलको दृश्य खिच्न थालियो । दिउँसोको दुई बज्न घडीको सुई आफ्नै गतिमा घुम्दै थियो भने आकाश केहीसम्म खुले पश्चात् समुन्द्र सतहदेखि ४ हजार ४ सय मिटर उच्चाई रहेको चौँरी लेकदेखि हिमालहरूको अर्को सुन्दरता देख्दै गर्दा मन झनै उत्सुकताले उमङ्ग भयो ।
ढोरपाटन सिकार आरक्ष क्षेत्रमा रहेको पश्चिमतिर पुथाउत्तरगंगा गाउँपालिकामा रहेका विभिन्न गाउँहरू, दक्षिणमा रोल्पाको चर्चित धार्मिक तथा पर्यटकीय स्थल जलजला, जन्तरे, कोठी भिरलगायत प्युठानका विभिन्न ठाउँहरूको नाम सुनेको थिएँ तर अवलोकन गर्न भने सकेको थिइन । चौँरी लेक पुगेसँगै विभिन्न स्थानहरू निहाल्दा समथर भू–भाग उच्च पहाडसम्म फैलिएको क्षेत्रमा अनगिन्ती धार्मिक तथा पर्यटकीय गन्तव्यले जो कोहीको मन चङ्गा बनाइने, मनमा भएको हरेक पिडा भुलाउन सकिँने बताउँछन् भूमे गाउँपालिका–४ काँडाका सुन्दर बुढा मगरले ।
साँझपख खर्कमा भेडाको हुल फर्कँदै थिए । पानीले लुथरुक्क भिजेका बेला भेडी गोठाला बुढापाखाहरु त्रिपालले बारेका गोठमा चौँरी लेकको बिचको फेदमा जेठ महिनाको पहिलो हप्ता लाग्नासाथ बेँसीबाट लेक चढेका गोठालाहरू करिब ५ सय हाराहारी लिएर बुकी लागेका सतबहादुर गुरुङसँग भेट भयो । उमेरले ६२ वर्ष पुगेका गुरुङसँग केही भलाकुसारी गर्ने अवसर मिल्यो । बाउ बाजेले गर्दै आएको पेसा आफूले अँगालेको र कृषि, पशुपालन भन्दा अरू विकल्प नभए पछि भेडा पालनमा लागेको उनले सुनाए । जमाना फेरिँदै गएसँगै मान्छेहरूले आफ्नो पेसासमेत फेर्दै आएको छोरा नातिले पशुपालनमा चासो नदिँदा भेडापालन व्यवसाय सङ्कटमा पर्न थालेको उनले बताए ।
गुरुङले भने, “जुग जमानाअनुसार होला अहिलेका छोराछोरीहरू गोठमा काम गर्न मान्दैनन् उति बेलाको हाम्रो पालमा पढाइ लेखाइको भनेको के हो थाहै थिएन । हाम्रो समयमा पढ्ने उमेरमा लेकमा गाई, भैँसी, भेडा बाख्रा चराउन बाउ बाजेसँग जान्थ्यौँ ।” पूर्वाधार निर्माण नहुँदा धेरै सम्भावना बोकेका ती गन्तव्य ओझेलमा परेका छन् । स्थानीय सरकार आएपछि केही परिवर्तन भने हुन थालेको छ ।
चौँरी लेकमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ । प्रचारको अभावमा ओझेलमा परेका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि भूमे गाउँपालिकाले पर्यटकीय महत्वको स्थान चौँरी खर्कलाई व्यवस्थित गर्न थालिएको गाउँपालिका अध्यक्ष होमप्रकाश श्रेष्ठले बताए । यस लेकमा खास गरी वर्षायाममा पशु चराउन र यस स्थानमा बुकी लगायतका विभिन्न जातका फूल फूल्ने भएकाले अति रमणीय हुनुका साथै यो भूभाग अग्लो स्थानमा रहेकाले चारैतिर देख्न सकिन्छ । चौँरी लेक हिउँद याममा हिउँले छोपिने यो लेक वर्षायाममा रंगीविरंगी फूलहरूमा मन भुलाउन सकिने भएकोले पर्यटकको रोजाइमा पर्न सफल भएको छ ।