साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा नेपाल र भुटान भिड्ने

साफ यू–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा घरेलु टोली नेपालले भुटानविरुद्ध खेल्ने भएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा शुक्रबार भएको समूह बी को अन्तिम खेलमा भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले पराजित गरेसँगै नेपालले सेमिफाइनलमा खेल्ने टोलीको टुङ्गो लागेको हो ।

भारतलाई जित दिलाउन मांग्लेनथान किप्गेन नायक बने । माल्दिभ्सले खेलको इन्जुरीसम्मै जब्बर रक्षापंक्ती बनाए पनि किप्गेनले अन्तिम मिनेटमा गोल गर्दै भारतको जित सुनिश्चित गरे । उनले पाँच मिनेटको इन्जुरी समयको अन्तिम मिनेटमा गोल गरे ।

लगातार दोस्रो हार व्यहोरेसँगै मालदिभ्स भने समुह चरणबाटै बाहिरिएको छ । दुई खेलमा जित निकालेको भारत ६ अंकमा अंक तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्ने भएको हो । एक खेलमा जित निकालेको भुटान दोस्रो स्थानमा रहँदै सेमिफाइनल पुगेको छ।

योसँगै च्याम्पियनसिपको सेमिफाइनल समिकरण पूरा भएको छ ।

च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा समूह ए को विजेता नेपालले समूह बी को उपविजेता भुटानविरुद्ध खेल्नेछ । सो खेल आइतबार हुनेछ ।

दोस्रो सेमिफाइनलमा समुह बी को विजेता भारतले भने समुह ए को उपविजेता बंगलादेशविरुद्ध खेल्नेछ । दोस्रो सेमिफाइनल खेल सोमबार हुनेछ ।

सम्बन्धित समाचार