अदालती कागजातले देखायो-  अमेरिकामा नरेशले घरमै ममताको हत्या गरे, शव बाहिर लुकाए

अमेरिकामा हराइरहेकी नेपाली नर्स ममता काफ्ले भट्टको हत्या भएको अमेरिकी अदालतको विवरणले देखाएको छ। अमेरिकी मिडियाहरुका अनुसार अदालती कागजातले उनका श्रीमान् नरेश भट्टले जुलाई ३० को आसपासमा उनीहरुको निवास (हिथर कोर्ट होम) मा श्रीमती ममताको हत्या गरेको र शव घरबाहिर लगेको बलियो अनुमान गरेको हो।

नरेश भट्टलाई त्यहाँको प्रहरीले बिहीबार नै पक्राउ गरिसकेको छ भने शुक्रबार बिहानै (अमेरिकी समयअनुसार) हत्या आरोप तथा शरीर लुकाएको अपराधमा अदालतमा पेस गरेको छ।

मानासास पार्क र प्रिन्स विलियम काउन्टीका अधिकारीहरुले दुई दिनसम्म उनीहरुको घरमा खानतलासी लिएर अनुसन्धान गरेका थिए। त्यसपछि शरीर लुकाएको र अनुसन्धानमा नसघाएको अभियोग लगाइएको थियो। घरको खोजीका क्रममा प्रहरीले उनीहरुको मास्टर बेडरूममाको बाथरूममा र बाथटबको वरिपरि रगत भेटेको थियो । भर्जिनियामा यसलाई गम्भीर अपराधका रुपमा लिइन्छ। त्यसलगत्तै बिहीबार अपराह्न घरबाट प्रहरीले नरेशलाई हत्कडीसहित गाडीमा हालेर लगेको थियो ।

सेभेनन्युजका अनुसार खानतलासी र अनुसन्धानसँगै अधिकारीहरुले ममताको मृत्यु भएको अनुमान गरेको थियो। तर अझै घटनालाई लिएर हत्याको अभियोग घोषणा गरेको छैन।

महेन्द्रनगर कञ्चनपुर स्थायी घर भएका भट्ट र काभ्रे पनौतीकी काफ्लेले सन् २०२० मा मात्र विवाह गरेका थिए । दुईबीच पछिल्लो समय सुमधुर सम्बन्ध थिएन । काफ्लेले सम्बन्ध विच्छेद गर्न विभिन्न व्यक्तिहरुसँग परामर्श गरेको समेत खुलेको छ ।

प्रहरीका अनुसार काफ्ले मनसास पार्कबाट जुलाई ३० देखि हराइरहेकी थिइन । ममताका श्रीमानले अगस्ट ५ ९साउन २१० मा मात्र आफ्नी पत्नी हराएको खबर प्रहरीमा दिएका थिए । त्यसअघि २ अगस्ट ९साउन १८० मा ममता बस्ने घरमा पुगेको थियो । घरमै रहेका ममताका पति नरेश भट्टसँग प्रहरीले सोधपुछ गर्‍यो । उनले आफ्नी श्रीमती हराएको बारेमा प्रहरीमा रिपोर्ट गर्न चाहेनन् । उनले ममताको परिवार र अमेरिकामा नेपाली समुदायको दबाबपछि हराएको पाँच दिनपछि मात्रै प्रहरीमा रिर्पोट गरे । त्यसपछि मनासास पार्क प्रहरीले घटनाबारे तीव्र रूपमा अनुसन्धान थालेको हो ।

प्रहरीका अनुसार जुलाई २७ मा काफ्ले युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएकी थिइन् भने जुलार्इ २८ मा साथीसँग कुरा गरेको थिइन् । जुलाई २९ मा उनले नेपालमा आफ्नी आमालाई फोन गरेर कुरा गरेकी थिइन् । ममता युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सको रुपमा कार्यरत थिइन ।

मिडिया रिपोर्टका अनुसार भट्ट दम्पतीका एक वर्षीया छोरी छिन्। उनलाई सोसल सर्भिसेजको रेखदेखमा राखिएको छ। नरेशलाई अक्टोबर ८ मा पुनः अदालतमा पेस गरिनेछ भने अदालतले प्राप्त प्रमाणलाई हेरी अभियोगबारे निर्णय गर्ने बताइएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार