दोस्रो हाफमा रोवर्ट लेवान्डोवस्कीले गरेको गोल निर्णायक बनेपछि बार्सिलोनाले स्पेनिस लिगामा एथ्लेटिक विल्वाओविरुद्ध २–१ को जित निकालेको छ ।
शनिबार स्टाडियो ओलिम्पिक लुईस कम्पनीजमा भएको खेलमा लामिन यमलले २४औँ मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रतामा राखेका थिए । तर, ४२औँ मिनेटमा अइहान सान्सेटले पेनाल्टीमार्फत गोल गरेपछि एथ्लेटिक खेलमा फर्कियो । बार्सिलोनाका रक्षक पाउ कुबार्सीले १८ यार्ड बक्सभित्र एथ्लेटिकका खेलाडीमाथि फाउल गरेपछि पाहुना टोलीले पेनाल्टीको अवसर पाएको थियो । जसमा सान्सेटले कुनै गल्ती गरेनन् ।
तर, ७५औँ मिनेटमा लेवान्डोवस्कीले गोल गरेपछि बार्सिलोनाले पुनः २–१ को अग्रता बनाएको थियो । लेवान्डोवस्कीको यही गोल निर्णायक बन्दा बार्सिलोनाले लगातार दोस्रो जित निकालेको हो ।
जितसँगै दुई खेलबाट ६ अंक जोडेको बार्सिलोना तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट एक अंक जोडेको विल्वाओ तालिकाको १६औँ स्थानमा छ ।