बुटवलको डेल्टा मार्ट परिसरमा आइतबारदेखि सुरु हुने भनिएको दोस्रो जुत्ता चप्पल व्यापार मेलामा तोडफोड तथा हातपात भएको छ ।
मेलास्थलमा पुगेका एक समूहले त्यहाँ रहेका ब्यानर तथा स्टलहरू तोडफोड गर्नुका साथै मेलामा कार्यरत कर्मचारीहरुमाथि हातपात गरेका हुन् ।
नेपाली लुगा घरको आयोजनामा दसैँसम्म मेला लाग्ने बताइएको थियो । उक्त मेलालाई रोक्न रुपन्देही व्यापार संघले दबाब दिँदै आएको समयमा मेलास्थल भित्र तोडफोड तथा हातपात भएको हो ।
बिहान करिब ९ बजेको समयमा आएका २५/३० जनाको समूहले मेलास्थलका बोर्ड तथा स्टलहरू तोडफोड गर्नुका साथै त्यहाँ कार्यरत व्यक्तिहरुलाई समेत हातपात गरेका थिए । मेलास्थलमा पुगेका समूहले मेला बन्द गर्नुपर्ने भन्दै तोडफोड गरेका थिए ।
बुटवल मिलनचोकस्थित नेपाली लुगा घरले नेपाली जुत्ता घरसँगको सहकार्यमा आइतबारदेखि जुत्ता मेला सञ्चालनको तयारी गरेको थियो । यसअघि रूपन्देही व्यापार संघले आफूहरूको अनुमति र सहमतिबिना बाहिरबाट आएका व्यक्तिहरूले जुत्तामेला लगाउन लागेको भन्दै मेला रोक्न बुटवल उपमहानगरपालिका वडा नम्बर ८ लाई पत्र पठाएको थियो ।
जुत्ता मेला सञ्चालन गर्न भदौ ४ गते अनुमति दिएको वडा कार्यालयले शुक्रबार जुत्ता मेला नगर्न पत्राचार समेत गरेको थियो । आइतबार बिहानैदेखि मेलाको उद्घाटनको तयारीमा कर्मचारीहरू खटिएका बेला एक समूहले स्वागतगेट भत्काइदिएर स्टलहरू तोडफोड गरेका हुन् ।