चितवन जिल्लाका विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये ५८८ जनामा डेंगु पुष्टि भएको छ । अस्पतालमा आएका बिरामीमध्ये २ हजार ३९४ जनाको परीक्षण गर्दा ५८८ जनामा डेंगु पुष्टि भएको हो ।
विरामीमध्ये ४१७ चितवनका छन् भने १७१ जना जिल्लाबाहिरका रहेका जनस्वास्थ्य कार्यालय चितवनका भेक्टर कन्ट्रोल निरीक्षक राम केसीले जानकारी दिए। लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ ।
उनले भने, “सूर्य उदाएको २ घण्टाअघि र अस्ताउने समयमा २ घण्टाअघि लामखुट्टेले टोक्ने गर्छ । त्यो समयमा लामखुट्टेको सम्पर्कमा जो बढी गयो त्यसैलाई रोग लाग्ने जोखिम रहन्छ ।”
साउनयता जिल्लाका ७ पालिकामध्ये इच्छाकामना गाउँपालिकामा २३६ जनामा डेंगु देखिएको छ । भरतपुर महानगरपालिकामा १०७ जना, खैरहनीमा ११ जना, रत्ननगरमा ४९ जना, माडीमा तीनजना, राप्तीमा तीनजना र कालिका नगरपालिकामा ३ जनामा डेंगु देखिएको केसीले जानकारी दिए ।
उनका अनुसार जिल्लामा भेटिएका डेंगुका विरामीमध्ये २२५ जना महिला र १९२ जना पुरुष छन् ।
वर्षा हुने र घाम लाग्ने हुँदा लामखुट्टेका लागि अनुकूल वातावरण बन्ने भएकाले विशेषगरी भदौ, असोजमा डेंगु देखिने गरेको केसीले बताए। उनले भने, “अहिले साउनको शुरुआतदेखि नै डेंगु देखिन थालेको छ ।”
यो रोग एडिस जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । बर्सातको महिनासँगै जताततै पानी जम्न थालेपछि यो रोगको प्रकोप हुने गरेको उनले बताए ।
यो लामखुट्टेले प्लास्टिक, टिनका डब्बा, ड्रमहरु, थोत्रा वा पुराना टायर, गमला, कुलरमा जम्मा भएको सफा पानी, खुल्ला पानीको ट्याङ्की, आदिमा फुल पार्ने गर्छ । यी ठाउँमा जम्मा भएको पानी सफा नगर्दा रोगको प्रकोप बढ्ने निरीक्षक केसीले बताए ।
डेंगुका लक्षण
डेंगुको ज्वरो ५ देखि ७ दिनसम्म रहन सक्ने उनले बताए। यो रोग लाग्दा आँखाको गेडी तथा टाउको दुख्ने, शरीर कट्कटी दुख्ने, जोर्नी, हड्डी तथा मांसपेशीहरु दुख्ने, शरीरमा बिमिरा आउने र रक्तस्राव हुने, उच्च ज्वरो आउनेलगायत लक्षण देखापर्छ ।
वाकवाकी लाग्ने, बान्ता हुने, पेट दुख्ने, नाक वा गिजाबाट रगत बग्ने, रक्तस्राव हुनेजस्ता लक्षण देखापर्ने केसीले बताए । डेंगु ज्वरो विषाणुका कारण हुने भएकाले यसको निश्चित उपचार भने नहुने उनको भनाइ छ ।
डेंगुबाट बच्ने मुख्य उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु नै रहेको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।