गुजरातमा बाढी, २८ जनाको मृत्यु

भारतको गुजरात राज्यमा भारी मनसुनी वर्षाले निम्त्याएको बाढीका कारण विगत तीन दिनमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । मौसम विभागले पश्चिमी तटीय राज्यमा बिहीबार थप भारी वर्षा हुने चेतावनी समेत दिएको छ ।

भारी वर्षाका कारण नदीहरूमा पानीको बहाव बढेको छ । नदीनजिक बसोबास रहेका ३० हजारभन्दा बढी मानिस घर छोडेर सुरक्षित स्थानमा स्थानान्तरण भएका छन् । गुजरात सरकारले बुधबार ९हिजो० बाढीमा परेर १३ र घर वा रुखहरूले किचेर अरू व्यक्तिको मृत्यु भएको जनाएको छ ।

इन्डियन एक्सप्रेसले राज्यभरि बाढीका कारण ३५ जनाको मृत्यु भएको उल्लेख गरेको छ । स्रोतका अनुसार, करिब एक हजार ८५६ जनाको उद्धार गरिएको छ । राहतकार्यका निम्ति सेनाका अधिकारीहरू तैनाथ गरिएको छ ।

विपद्का कारण ऊर्जा तथा विद्युत् सेवा प्रभावित हुँदा करिब एक हजार गाउँ विद्युत्विहीन भएको जनाइएको छ । सार्वजनिक तस्बिर र भिडियोमा उद्धारकर्मीले बाढीमा फसेका मानिसलाई बचाउन प्रयास गरिरहेका देखाइएको छ ।

विज्ञले जलवायु परिवर्तनले मौसमको ढाँचा परिवर्तन गर्दा चरम मौसमी दुर्घटनाको संख्या बढाइरहेको जनाएका छन् ।

सम्बन्धित समाचार