नक्कली नोट बनाउने गिरोहका आठ जना पक्राउ

सर्लाही प्रहरीले नक्कली नोट बनाउने कार्यमा संलग्न गिरोहलाई पक्राउ गरेको छ । सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिका–१२, मधुबनी गाउँबाट नक्कली नोट बनाउन प्रयोग हुने सामानसहित आठ जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्यको सीतामढी थाना बैरगनिया ग्रामपञ्चायत पान टंकीका ४९ वर्षीय पप्पु भन्ने राजीव ठाकुर, भारतकै मेजरगञ्ज ग्रामपञ्चायत–८ का ४० वर्षीय सुवोध कुमार छन् । यस्तै नक्कली नोटको कारोबारमा संलग्न काठमाडौं चन्द्रागिरी नगरपालिका–१५ का २६ वर्षीय सौगात थापा मगर, काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–६ का ४७ वर्षीय विजय लामा, सर्लाही गोडैता नगरपालिका–१२ मधुवनीका ३२ वर्षीय जनार्धन सिंह र रौतहट चन्द्रपुर नगरपालिका नराई टोलका ३७ वर्षीय विशाल राईलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

यस्तै ललितपुर नगरपालिका–१ कुपन्डोलका ३३ वर्षीय सञ्जय राना मगर, भक्तपुर चाङ्गुनारायण नगरपालिका–५ का ३७ वर्षीय अमिर खत्रीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार नक्कली नोटको कारोबार गर्ने गिरोह नै पक्राउ गरिएको छ ।

मधुवनी गाउँको दशनजिक सिंचाइका लागि बोरिङ राख्न बनाइएको घरभित्र नक्कली नोट बनाउने कार्य भइरहेको सूचना पाएपछि पुगेको प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिन सफल भएको हो ।

घटनास्थलबाट प्रहरीले एक हजार नोटको आकारमा काटिएको १४ बण्डल कागज, विभिन्न रङका ८ लिटर केमिकल, ९५ हजार ८०५ सक्कल नेपाली रुपैयाँ, १० थान मोबाइल सेट, २ भारतीय नम्बर प्लेट तथा १ नेपाली नम्बरको स्कारपियो समेत नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए । त्यस क्षेत्रमा यसअघि पनि नक्कली नोटको कारोबारी पक्राउ परिसकेका छन् ।

सम्बन्धित समाचार