अघिल्ला केही दिनसम्म उच्च गिरावट देखिएको सेयरबजारले फेरि लयमा फर्किएको संकेत गरेको छ ।
सोमबार नेप्से १२७.३२ अंकले बढेर २८२३.२५ विन्दुमा पुगेको हो । योसँगै कारोबार रकममा पनि सुधार आएको छ । आज १३ अर्ब १० करोड रुपैयाँको सेयर किनबेच भएको छ ।
कुल ३ करोड १४ लाख कित्ता सेयर बिक्रीमा उक्त कारोबार भएको हो । आइतबार ५३.६३ अंकले घटेपछि नेप्से २७ सय विन्दुबाट ओर्लिएको थियो भने कारोबार रकम १० अर्ब ५१ करोडमा संकुचित भएको थियो ।
सोमबार ४.७२ प्रतिशतले बढेको बजारमा २३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ५ वटाको घटेको छ । आज ७ वटा कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स कम्पनी, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स र सुपरमाई हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ । योसँगी यी कम्पनीका लगानीकर्ताले क्रमशः २२.६०, ६१.५०, ६१.५०, ६२.२०, १०५, ६१.६० र १०५.६० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् ।
लगानीकर्ताले आज ४.७१ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी व्यहोरेका छन् । आज गुडविल फाइनान्सको ४६ करोड ५२ लाख, अपि पावरको ४१ करोड ८८ लाख, हिमालयन रि इन्स्योरेन्सको ३३ करोड १३ लाख, अरुण भ्याली हाइड्रोपावरको २४ करोड र नेपाल फाइनान्सको २३ करोड ८८ लाखको सेयर कारोबार भएको छ ।
धेरै कारोबार भएका यी कम्पनीहरुको सेयर मूल्य क्रमशः १३३०, ३५३, ८९४.५०, ३२२.६० र १७९४ रुपैयाँ रहेको छ ।