नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाले युरोपियन क्लबबाट व्यावसायिक फुटबल खेल्ने तय भएको छ । एञ्जिलाले २०२४-०२५ को सिजनमा ग्रिसको वुमेन्स सुपर लिग खेल्ने भएकी हुन् ।
उनले ग्रिसको वुमेन्स सुपर लिग क्लब निस एट्रोमिटोउसँग एकवर्षे सम्झौता गरेको जनाएकी छन् । एञ्जिला एसिया बाहिर लिग खेल्ने दोस्रो महिला खेलाडी हुन् ।
एञ्जिलाले पहिलो पटक युरोपको लिग खेल्न पाउनु एउटा ठूलो सपना पूरा भएको रूपमा लिएको बताइन् । उनले भिसाको प्रक्रियामा रहेको बताइन् । उनले भनिन्, ‘एएफसी प्रतियोगिता खेल्नका लागि मलेसियामा रहँदायता भिसा प्रक्रिया सुरु गर्न केही ढिलाइ भयो । अब सुरु गरेकी छु । २९ तारिखमा क्लबको खेल छ । पुग्नु पर्छ भन्या छ । हेरौं भिसा छिटो आएमा समयमा पुग्न सक्छु होला ।’
एञ्जिला यसअघि एपिएफसँग आबद्ध रहेकी छन् । यसअघि एपिएफकै सावित्रा भण्डारी युरोपमा खेल्ने पहिलो खेलाडी भएकी थिइन् । इजरायली लिगमा खेलेपछि अहिले सावित्रा फ्रान्सको माथिल्लो डिभिजनको क्लब अन आभान्टे ग्वेङगाम्पमा आबद्ध छन् । पछिल्लो संस्करणको ग्रिस वुमेन्स लिगमा निस एट्रोमिटोउ १४ क्लबमध्ये नवौं स्थानमा रहेको छ ।
यसअघि एञ्जिलाले भारत र पाकिस्तानमा पनि व्यावसायिक फुटबल खेलिसकेकी छन् । उनलाई साउदी अरेबियाको वुमेन्स प्रो-लिगमा खेल्ने प्रस्ताव आए पनि ग्रिसलाई नै आफ्नो गन्तव्य बनाउने सोच बनाइन् । यद्यपि भिसाका कारण खेल्न नपाएमा साउदी जाने उनकाे विचार छ। २०६८ देखि एञ्जिलाले व्यावसायिक फुटबल खेल्दै आएकी छन् ।