मधेस प्रदेशका २३ विद्युत् वितरण केन्द्रमध्ये सबैभन्दा धेरै विद्युत् चुहावट रौतहटको मौलापुर वितरण केन्द्रबाट हुने गरेको छ । नेपाल विद्युत् प्राधिकरण मधेस प्रदेश प्रादेशिक कार्यालय जनकपुरका अनुसार आर्थिक वर्ष २०८०/८१ मा मधेस प्रदेशमा सबैभन्दा धेरै विद्युत् चुहावट हुनेमा मौलापुर वितरण केन्द्र छ । यो केन्द्रबाट ४३.४० प्रतिशतले विद्युत् चुहावट भएको छ ।
प्राधिकरण प्रादेशिक कार्यालय प्रमुख मुनिन्द्र ठाकुरका अनुसार मधेशका अधिकांश वितरण केन्द्रबाट विद्युत् चुहावट उच्च हुने गरेको छ । ‘मधेसका गाउँ-गाउँमा विद्युत् चोरी धेरै भएकाले पनि चुहावटको मात्रा पनि धेरै देखिएको हो । मधेश प्रदेशका २३ वितरण केन्द्रमध्ये सबैभन्दा धेरै चुहावट मौलापुरमा देखिएको छ’ उनले भने, ‘यहाँ विशेष गरेर हुकिङ गरेर, मिटरबाट पनि विद्युत् चोरी गर्ने प्रवृत्ति देखिएको छ । हामीले विद्युत् चोरी गर्नेलाई पक्राउ गरेर जरिवाना गर्दै पनि आइरहेका छौँ ।’
मधेस प्रदेशको दोस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा पर्छ-बाराको सिम्रनगढ वितरण केन्द्र । सो केन्द्रमा पनि ४३.२३ प्रतिशत विद्युत् चुहावट भएको छ । यस्तै तेस्रो धेरै विद्युत् चुहावट हुने वितरण केन्द्रमा मलंगवा वितरण केन्द्र दर्ज भएको छ । यो केन्द्रबाट पनि गत आवभरिमा ४२.९१ प्रतिशतले विद्युत् चुहावट भएको छ ।
प्रदेशमा सबैभन्दा कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा सिमरा वितरण केन्द्र रहेको छ । सो केन्द्रबाट विद्युत् चुहावट १.४० प्रतिशतमात्र रहेको छ । दोस्रो सबैभन्दा कम चुहावट हुने वितरण केन्द्रमा मिर्चैया वितरण केन्द्र रहेको छ । सो केन्द्रको विद्युत् चुहावट ३.०१ प्रतिशत छ । त्यस्तै तेस्रो कम विद्युत् चुहावट हुने वितरण केन्द्रमा वीरगञ्ज वितरण केन्द्र पर्छ । सो केन्द्रको चुहावटको हिस्सा ५.८८ प्रतिशत छ ।
मधेश प्रादेशिक कार्यालय प्रमुख ठाकुरका अनुसार गत आवमा प्रदेशमा विद्युत् चुहावटमा संलग्न रहेको भन्दै सात हजार ९७ जनालाई कारबाही गरेको थियो । प्राधिकरणले गत आवमा विद्युत् चुहावटमा संलग्न रहेको भन्दै दुई हजार ६५६ जनालाई पक्राउ गरेर आवश्यक कारबाही गरेको थियो । त्यस्तै गत आवमा नै विद्युत् चुहावटमा संलग्न रहेकाबाट छ करोड २० लाख तीन हजार ९५८ रकम जरिवाना उठाएको थियो ।