यूईएफए नेसन्स लिगमा युरो विजेता इटालीले लगातार दोस्रो जित निकालेको छ । सोमबार राति बुडापेस्टस्थित बोजसिक एरिनामा भएको समूह–२ को खेलमा इटालीले इजरायललाई २–१ ले हराएको हो ।
इटालीको जितमा डेविड फ्राटेसी र मोइसे केनले गोल गरे । इजरायलका मोहम्मद अबु फानीले एक गोल फर्काएका थिए ।
खेलको ३८औँ मिनेटमा फ्राटेसीले गोल गरेपछि इटालीले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ६२औँ मिनेटमा केनको गोलमा इटालीले अग्रता दोब्बर बनायो ।
अन्तिम मिनेटमा फानीले गोल गर्दै इजरायललाई खेलमा फर्काउने प्रयास गरे पनि सफल बन्न सकेनन् ।
इटालीले यसअघि पहिलो खेलमा फ्रान्सलाई ३–१ ले पराजित गरेको थियो । ६ अंक जोडेको इटाली समूहको शीर्ष स्थानमा छ । दुई खेल खेल्दा अंकविहीन इजरायल पुछारमा छ ।