भारतीय अभिनेता नवाजुद्दिन सिद्धिकीले नेपालमा राम्रो चलचित्र निर्माण हुने माहोल बनेको बताएका छन् ।
सोमबार काठमाडौँमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले नेपाली चलचित्र शाम्बाला हेरेपछि आफूले चलचित्रका लागि नेपालमा अब नयाँ माहोल बनेको पाएको बताएका हुन् ।
उनले निर्देशक मिनबहादुर भामले चलचित्रलाई उत्कृष्ट बनाएको आफूले पाएको पनि सुनाएँ । देशमा एकपटक मात्रै चलचित्र क्षेत्रको माहोल बनाउने कलाकार, निर्देशकहरु आउने भन्दै त्यो माहोल चलचित्र शाम्बलासँगै बनेको दाबी गरे ।
‘एउटा देशमा एकपटक मात्रै त्यस्तो मानिस आउँछन् जसले त्यो बेलामा सिनेमा वा अरु कुनैपनि चिजलाई माथिल्लो स्तरमा लैजान्छन् । त्यसले एउटा माहोल बन्छ । अब नेपालमा पनि त्यस्ता निर्देशक, कलाकारहरु आउँछन्,’ उनले भने, ‘जो अहिले नेपालमा देखिएका छन् । अब नेपाली सिनेमा क्षेत्रको माहोल अझै बढ्नेछ । उनीहरुले नै नेपालको सिनेमा क्षेत्रलाई अघि बढाउनेछन् ।’