बिहीबार एक सय रुपैयाँले घट्यो सुनको मूल्य, एक वर्षमा ४२ हजारले महंगियो

नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ ।

बुधबार प्रतितोला एक हजार रूपैयाँ बढेर प्रतितोला एक लाख ५३ हजार चार सय रूपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक सय रूपैयाँ घटेको हो । बुधबारको उक्त मूल्य हालसम्मकै उच्च हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५३ हजार तीन सय रूपैयाँ निर्धारण भएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला एक हजार सात सय ८० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार सात सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो ।

यसैबिच एक वर्षको अवधिमा बजारमा सुनको मूल्य प्रतितोला ४२ हजार एक सय रुपैयाँले बढेको छ । गत वर्ष भदौ २७ गते प्रतितोला एक लाख ११ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ( २०८१ भदौ २७ गते) बढेर एक लाख ५३ हजार तीन सय रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत सुन आयातमा लाग्दै आएको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशतमा पु¥याएकाले पनि सुनको मूल्य थप महँगो पर्न गएको व्यवसायीको भनाइ छ । भन्सार दर बढेका कारण तोलामा सुनको मूल्य सात हजार थप बढ्न गएको व्यवसायीको भनाइ छ । सुनको मूल्य लगातार बढ्दै गए पनि कारोबार भने न्यून अवस्थामा रहेको व्यवसायीको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार