टिकटकले नेपालका लागि पब्लिक पोलिसी म्यानेजर खोज्दै

टिकटकले नेपालका लागि पब्लिक पोलिसी म्यानेजर पदमा दरखास्त आह्वान गरेको छ ।

सरकार र नीति निर्माताहरूसँग सम्बन्ध स्थापित गर्नेदेखि टिकटक र यसका कन्टेन्ट क्रिएटरहरूलाई आवश्यक रणनीति बनाउने मूल जिम्मेवारीसहित टिकटकले पोलिसी म्यानेजर नियुक्त गर्न चाहेको हो ।

विश्वभर ११ स्थानमा कार्यालय भएको टीकटकको मुख्यालय सिंगापुर र लस एन्जलसमा छन् भने अरु कार्यालयहरु दुबई, सिओेल, जकार्ता, टोक्यो, बर्लिन, पेरिस, डब्लिन, लण्डन र न्यू योर्कमा छन् ।

नेपाल हेर्ने एक मुकाम दुबई भएकोले दुबईमा आधार भएको कार्यालयमा नेपाल मामिला हेर्ने कर्मचारी टिकटकले खुला गर्न लागेको देखिएको छ ।

टिकटकको वेबसाइटमा उल्लेख भएअनुसार कम्पनीले विद्यमान नीति एवं प्रस्तावित विधयकहरूको अध्ययन र विश्लेषण गर्न सक्ने, त्यसबारे ब्याख्यात्मक टिप्पणीहरू लेख्न सक्ने, कम्पनीभित्रकै सार्वजनिक सम्बन्ध व्यवस्थापन, कानुन, प्रोडक्ट तथा इन्जिनियरिङ विभागहरूसँग समन्वय गर्न सक्ने म्यानेजर खोजेको छ । पब्लिक पोलिसी म्यानेजरका अन्य प्रमुख जिम्मेवारीमा टिकटकलाई सबैभन्दा विश्वासिलो ब्रान्ड बनाउने गरी कम्पनीका आन्तरिक र बाह्य कार्यक्रममा प्रतिनिधित्व गर्नुपर्ने भनिएको छ ।

यस पदका लागि टिकटकले सार्वजनिक नीति, गभर्मेन्ट रिलेसन्स वा वकालतका कार्यमा प्रत्यक्ष अनुभव भएको, विधायकी प्रक्रिया र सूचना प्रविधि नीति, ऐन/कानुनबारे ज्ञान भएको हुनुपर्ने भनेको छ । अन्य योग्यताहरूमा राजनीतिशास्त्र, अन्तर्राष्ट्रिय सम्बन्ध, शासन प्रणाली वा सम्बन्धित विषयमा स्नातक गरेको हुनुपर्ने, ग्लोबल टेक्लोजी कम्पनी वा अन्तर्राष्ट्रिय निकायहरूमा काम गरेको अनुभव हुनुपर्ने जस्ता सर्त छन् ।

तर, तलबसुविधा र अरुको बारेमा भने टिकटकले खुलाएको छैन । अनलाइन आवेदन दिन सकिने जागिरमा टीकटकले पैसा लिएर लिएको रिफरल नराख्न आग्रह गरेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार