लुम्बिनी विकास कोषका योजना प्रमुखविरुद्ध झन्डै दुई करोडको भ्रष्टाचार मुद्दा

लुम्बिनी विकास कोषमा तत्कालीन योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध एक करोड ८५ लाख रुपियाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएको छ ।  

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार बाबुल निर्माण सेवाले एकल तथा जे.भी.लाई ठेक्का मिलाइदिने नाममा योजना प्रमुख भट्टराईले भ्रष्टाचार गरेको देखिएपछि मुद्दा दायर भएको हो ।

बाबुल निर्माण सेवाका प्रोप्राइटर घुस बापत ८० लाख रुपियाँ जम्मा गराएको अनुसन्धानबाट खुलेको छ ।  निर्माण कम्पनीका प्रोप्राइटर एकल दस्तखतबाट सञ्चालित अर्घाखाँची–बाबुल जे.भी. को खाताबाट विभिन्न बैङ्क खातामा एक करोड पाँच लाख रुपियाँ भट्टराईलाई दिएको खुलेको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।  

भट्टराईले घुस रकमबाट भक्तपुर, साबिक गुण्डु गाविस वडा नम्बर ३ हालको सूर्यविनायक नगरपालिका वडा नम्बर ७ स्थित कि नं. १३७४ र १३७५, क्षेत्रफल क्रमशः २–९–०–१ र ०–२–१–० का जग्गा आमा जनक नन्दनी भट्टराईको नाममा खरिद गरेको अख्तियारको अनुसन्धानले देखाएको छ ।  

कोषको योजना प्रमुख बन्दा सरकारी सम्पत्तिको गैरकानुनी ढङ्गले दुरुपयोग गरेको देखिएपछि भट्टराईमाथि सम्पत्ति शुद्धीकरण अन्तर्गत कसुरमा अख्तियारले भट्टराई र उनकी आमाविरुद्ध मुद्दा दायर गरेको हो ।  

भट्टराईविरुद्ध अख्तियारले एक करोड ८५ लाख रुपियाँ बिगो कायम गर्दै  बिहीबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको हो ।   

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार