सलोनको फिल्म ‘रंगी’बाट डेब्यु गर्दै पूर्वमिस नेपाल नम्रता श्रेष्ठ

पूर्वमिस नेपाल नम्रता श्रेष्ठ फिल्म ‘रंगी’मा अनुबन्ध भएकी छन् । ‘मिस वर्ल्ड नेपाल २०२०’ की विजेता उनले फिल्ममा डेब्यु गर्न लागेकी हुन् ।

सलोन सलिना फिल्मस् प्रालिको ब्यानरमा बन्ने फिल्मको प्रस्तुतकर्ता अभिनेता सलोन बस्नेत हुन् । नम्रताले फिल्ममा आफ्नो क्यारेक्टर मन परेकाले काम गर्न सहमत भएको बताइन् ।

‘छक्का पन्जा’, ‘ए मेरो हजुर २’, ‘यात्रा’, ‘म यस्तो गीत गाउँछु २’, ‘कृ’लगायतका फिल्ममा मुख्य सहायक निर्देशनको अनुभव सँगालेका सुरेश न्यौपानले यही फिल्ममार्फत निर्देशनमा ‘डेब्यु’ गर्दै छन् ।

यसअघि निर्माण पक्षले फिल्मको टाइटल पोस्टर सार्वजनिक गरेको छ । जहाँ साइकलमा बसिरहेकी एक बालिका र उनीसँग खेल्दै गरेका एक पुरुष देखाइएको छ । उनीहरू बाबु-छोरी रहेको अनुमान लगाउन सकिन्छ ।

पृष्ठभूमिमा सूर्यास्त हुँदै गरेको देखाइएको छ । फिल्मले बाबु छोरीको कथालाई चित्रण गर्ने अनुमान गर्न सकिन्छ ।

सक्षम सुवेदीको निर्माण रहने फिल्ममा सुमन गजमेरको लेखन छ । फिल्ममा सौरभ लामा छायाकारका रूपमा अनुबन्ध भइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार