दिल्लीका मुख्यमन्त्री केजरीवालले गरे राजीनामा दिने घोषणा

दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । केजरीवालले आइतबार दिल्लीमा कार्यकर्तालाई सम्बोधन गर्दै दुई दिनभित्र राजीनामा दिने र जनताले ‘इमान्दारीको प्रमाणपत्र’ नदिएसम्म मुख्यमन्त्रीको पदमा नफर्कने घोषणा गरेका हुन् ।

‘जनताले इमान्दारी र निष्ठाको प्रमाण दिएपछि मात्र म मुख्यमन्त्रीको कुर्सीमा बस्छु । जेलबाट रिहा भएपछि म अग्निपरीक्षा दिन चाहन्छु,’ उनले भनेका छन् । केजरीवालले दिल्लीको विधानसभा चुनाव नोभेम्बरमै गर्नसमेत माग गरेका छन् । दिल्ली विधानसभा चुनाव आगामी फेब्रुअरीका लागि तय गरिएको छ ।

केजरीवालको राजीनामा घोषणालाई भारतीय जनता पार्टी ९भाजपा० ले भने ‘प्रचारबाजी’ भएको जनाएको छ । भाजपा प्रवक्ता प्रदीप भण्डारीले समाजिक सञ्जाल एक्समा ट्वीट गर्दै दिल्लीका जनता आफूविरुद्ध भएको थाहा पाएपछि केजरीवालले ‘स्टन्ट’ गरेको दाबी गरेका हुन् ।

कथित दिल्ली मदिरा भ्रष्टाचार प्रकरणमा जेल परेका केजरीवालन शुक्रबार सर्वोच्च अदालतको आदेशपछि रिहा भएका थिए । केन्द्रीय जाँच ब्युरो ९सीबीआई० द्वारा गरिएको गिरफ्तारीविरुद्ध उनले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । सर्वोच्चका न्यायाधीशद्वय सूर्यकान्त र उज्जल भुइयाँको इजलासको आदेशपछि उनी रिहा भएका थिए ।

उनीविरुद्धको मुद्दाको सुनुवाइ सेप्टेम्बर ५ मै सकिएको भए पनि अदालतले फैसला सुरक्षित राखेको थियो । सर्वोच्च अदालतले तत्काल पूर्ण सुनुवाइ सकिने सम्भावना नरहेकाले ‘व्यक्तिगत स्वतन्त्रता’ लाई मध्यनजर गर्दै केजरीवाललाई धरौटीमा छाडिएको जनाएको थियो । न्यायाधीश भुइयाँले सीबीआई र ईडी ९प्रवर्तन निर्देशनालय० द्वारा जुन आधार देखाएर केजरीवाललाई हिरासतमा राखिएको छ, त्यो न्यायको उपहास हुने बताएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार