सहकारी ठगीमा कांग्रेस उपसभापति गुरुङमाथि अनुसन्धान गर्न छानबिन समितिको सिफारिस

नेपाली कांग्रेसका उपसभापति तथा सांसद धनराज गुरुङ सहकारीको रकम अपचलनमा संलग्न रहेको कागजातले देखाएकाले थप छानबिन गर्न सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले लेखी पठाउने भएको छ ।

समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी पूर्वश्रीमती ज्योति गुरुङको संलग्नता रहेको कागजात पाइएको हो ।

धनराज दम्पतीले २०७६ फागुन २९ मा अदालतबाट सम्बन्धविच्छेद गरेका थिए । तर, २०७७ फागुन ३ मा मितेरी सहकारीबाटै १२ लाख रुपैयाँ ऋण लिँदा धनराजले हकवालाका नाममा ज्योतिकै नाम लेखेका थिए ।

सहकारी छानबिन समितिले आज सरकारलाई आफ्नो प्रतिवेदन बुझाउँदैछ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा समितिका सभापति सूर्य थापाले सभामुख देवराज घिमिरेलाई सो प्रतिवेदन बुझाउने कार्यसूची रहेको छ ।

समितिले रास्वपाका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई भने दोषी ठहर गरेको छ । उनले विभिन्न सहकारीबाट झण्डै ९० करोड रकम झिकेर गोर्खा मिडिया नेटवर्कमा लगेको देखिएको समितिको ठहर छ । समितिले रविसहित ९ जनालाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको स्रोतले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार