सहकारी छानबिन समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस, संसदले सरकारलाई पठायो

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेस भएको छ ।

प्रतिनिधि सभाको सोमबारको बैठका समिति सभापति सूर्यबहादुर थापा क्षेत्रीले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१ पेस गरेका हुन् ।

विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै सो को छानबिन गर्नका लागि प्रतिनिधि सभाले थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो । प्रतिवेदन प्रस्तुत गर्दै सभापति थापाले पार्टीभन्दा माथि उठेर छानबिन गरेको बताए ।

उनले छानबिन समितिमा रहेका पाँच पार्टीहरु एकैतिर फर्किएर छानबिन गरिएको बताए ।

सभापति थापाले समितिले ६६ वटा बैठक गरेको र विभिन्न ४५१ जना व्यक्तिहरूसँग सुझावमुलक जानकारी र अन्तरक्रिया गरेको जानकारी दिए । सहकारी ठगिको आरोपित ४७ जना सहकारी सञ्चालक, गोर्खा मिडिया नेटवर्क प्रालिका सञ्चालक तथा कर्मचारी समेत ३ जना र नियामक निकायका ५ जना गरी जम्मा ५५ जनासँग सोधपुछ गरिएको उनले जानकारी दिए ।

प्रतिवेदन सभामा पेस भएसँगै सभामुख देवराज घिमिरेले प्रतिवेदनको आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिए ।

उनले भने, ‘सभामा प्रस्तुत सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ आवश्यक कार्यार्थ नेपाल सरकारलाई पठाउन म सचिवालयलाई निर्देश गर्दछु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार