रास्वपाको राष्ट्रिय भेला : आज सांगठनिक प्रतिवेदनमाथि छलफल र प्रदेशको ‘रिपोर्टिङ’

 राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आजदेखि सुरु राष्ट्रिय भेलामा सांगठनिक प्रतिवेदनमाथि छलफल भएको छ ।

कार्यवाहक महामन्त्री एवम् संगठन विभाग प्रमुख कवीन्द्र बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेस गरेका थिए । प्रतिवेदनमाथि छलफल भएको थियो । त्यस्तै, प्रदेशको ‘रिपोर्टिङ’ पनि भएको थियो । 

पहिलो दिन सबै प्रदेशले रिपोर्टिङ गरेपछि आर्थिक, अनुशासन र संसदीय मामिलासँग सम्बन्धित प्रतिवेदनसमेत पेस गरिने जनाइएको छ । आजै विधान संशोधन, नीति–विचार, मूल्य–मान्यता, क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबारेका प्रस्ताव राख्ने कार्यसूची छ । 

भेलाको दोस्रो दिन भोलि प्रस्तुत सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ । भोलि नै प्रश्नोत्तरका लागि तीन घण्टा समय छुट्याइएको छ भने अपराह्न सबै प्रतिवेदन र प्रस्ताव पारित गरेपछि पहिलो महाधिवेशनको मिति र स्थान घोषणा गर्दै भेला सम्पन्न हुनेछ । 

भेलाले पार्टीको राष्ट्रिय अभियान घोषणा तथा प्रथम महाधिवेशनको मिति तय गर्ने जनाइएको छ । भेलामा देशभरबाट एक हजार ५०० बढी प्रतिनिधि सहभागी छन् । 

भेलामा छलफलका लागि ल्याइने प्रतिवेदन र प्रस्ताव सोमबार बसेको केन्द्रीय समितिको बैठकले पारित गरेको थियो । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार