संखुवासभामा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

संखुवासभा जिल्लाको मकालु गाउँपालिका – ३ स्थित खाँदबारी –किमाथाङ्का सडक खण्डको सम्माटारमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

खाँदबारी –किमाथाङ्का सडक खण्डको मकालु  – ३  सम्माटारमा प्रदेश १ –०२००३ त १४३७  नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालकसहित दुई जनाको  घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए ।

बुधबार बिहान भोटखोला गाउँपालिकाबाट सदरमुकाम खाँदबारी आउँदै गरेको ट्याक्टर दुर्घटना हुँदा खाँदबारी नगरपालिका – ८ का विष्णेधाराका चालक १९ वर्षीय किरण श्रेष्ठ, सहचालक सोही ठाउँका १७ वर्षीय उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको निमित्त प्रहरी प्रमुख लामिछानेले बताए ।

निमित्त प्रहरी प्रमुख लामिछानेका अनुसार उक्त ट्याक्टर खाँदबारी –किमाथाङ्का सडक खण्डको सम्माटारको भिरबाट तीन सय मिटर तल खसेको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय हेदाङ्नाबाट डेढ घण्टाको पदैल दूरीमा पर्दछ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार