नेपालीले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल होइन : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीले अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नचाहेको बताएका छन्। बिहीबार सैनिक मञ्च टुँडिखेलमा आयोजित संविधान दिवस मुल समारोहलाई सम्बोधन गर्दै उनले पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमुना समाज देशले चाहेको बताए।

‘हामीले चाहेको समाज अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल होइन। पाका उमेरकाले तन्नेरीलाई स्नेह गर्ने, युवा वयस्कले ज्येष्ठ नागरिकहरूको सम्मान गर्ने नमुना समाज हो। यस्तो नमुना समाज– जुन शान्त, सभ्य र सुसंस्कृत हुनेछ,’ प्रधानमन्त्री ओलीले भने, ‘जहाँ सुखसहितको समृद्धि हुनेछ। हामीले अपनाएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिस्पर्धासहितको व्यवस्था हो। त्यसैले, सबैलाई अधिकार, अवसरमा समान पहुँच, समानता, सामाजिक न्याय, सुरक्षा र मर्यादा सहितको लोकतन्त्र, हाम्रो लोकतन्त्र हो।’

शान्त, सभ्य र सुसंस्कृत, सुखसहितको समृद्धिको समाज आफूहरूले चाहेको बताउँदै उनले संघीय लोकतान्त्रिक गणतन्त्र, स्वस्थ प्रतिस्पर्धासहितको व्यवस्था भएको उल्लेख गरे। ‘सुशासन अर्थात कानूनी राज, पारदर्शिता र उत्तरदायित्व हाम्रो लोकतन्त्रको अभिन्न सर्त हो। वसुधैव कुटुम्बकम, सदियौंदेखि हामीले भन्दै र सुन्दै आएको आदर्श वाक्य हो। हामी नेपाली सिङ्गो विश्वलाई एक परिवार मान्छौँ। सबैलाई दाजुभाई, दिदीबहिनी मानी हाम्रो वैदेशिक सम्बन्ध कायम राख्छौँ। सबैसँग मित्रता छैन कसैसँग शत्रुता, हाम्रो विदेश नीतिको मर्म हो,,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी हाम्रा छिमेकीसँग असल छिमेक सम्बन्ध राख्छौँ। संसारभरिकै सबै मित्र राष्ट्रहरूसँग पारस्परिक सम्बन्ध कायम गर्न चाहन्छौँ। मैले पहिले नै भनिसकेको छु हाम्रो राष्ट्र बहुभाषिक, बहुसांस्कृतिक र बहुजातीय राष्ट्र हो। हामी सबै मिलेर सबै जात जाति,भाषा संस्कृतिको रक्षा, प्रवद्र्धन र विकासबाट राष्ट्र बन्छ, देश बन्छ।ँ

प्रधानमन्त्री ओलीले वर्तमान शासन व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु सबैको कर्तव्य र दायित्व भएको पनि बताए। ‘हाम्रो राज्यव्यवस्था संघीय लोकतान्त्रिक गणतन्त्र हो। यो कुनै वंशको निरङ्कुश शासनको निरन्तरता होइन, जनताले आफ्नो शासक आफैँले छान्ने विधिद्वारा परिचालित प्रगतिशील प्रणाली हो। अब यो पछाडि फर्किंदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यो अन्यायी राज्यव्यवस्था अन्त्य गरी हामी जनता आफैँले सिर्जना गरेको नयाँ राजनीतिक व्यवस्था हो। यस व्यवस्थालाई बलियो बनाउनु र यसको पक्षमा उभिनु हामी सबैको परम कर्तव्य र दायित्व हो।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार