४२ जिल्लाका ६३ स्थानमा आजदेखि सुपथ मूल्य पसल, केमा कति छुट?

सरकारले आजदेखि चाडपर्वलक्षित सुपथ मूल्य पसल सञ्चालन गरेको छ। ४२ जिल्लाका ६३ स्थानमा सञ्चालन गरिने पसलका लागि सरकारले ३ करोड रुपैयाँ बजेट छुट्याएको छ। पर्वलक्षित पसलका लागि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीस्तरीय निर्णय गत भदौ २३ गते भएको थियो। सोहीअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चाडपर्वमा सुपथ मूल्य पसल सञ्चालन गरेको हो।

सुपथ मूल्य पसल आगामी माघ २ सम्म सञ्चालन हुने कम्पनीले जनाएको छ। काठमाडौं उपत्यकामा थापाथली, रामशाहपथ, नख्खु, सूर्यविनायका बिक्री कक्षहरु सञ्चालनमा रहेका छन्। उपत्यकाका सुपथ मूल्य पसलमा अनलाइन अर्डरमार्फत होम डेलिभरी सेवा समेत रहेको छ।

उपत्यकाबाहिर भने कम्पनीको आफ्नै भौतिक पूर्वाधारहरु, जनशक्ति, आर्थिक स्रोत र साधनको सीमितताले सबै जिल्ला र पालिकामा पसल सञ्चालनमा सरकारको उपस्थिति देखाउनु चुनौतीपूर्ण भएको कम्पनीले जनाएको छ।

५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य, कुनमा कति छुट?
सरकारले सुपथ मूल्य पसलमार्फत यस वर्ष ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने लक्ष्य राखेको छ। यसअनुसार विभिन्न खाद्यान्न बिक्री गरिनेछ भने उपभोक्ताले सुपथ मूल्य पसलबाट खरिद गर्दा छुट पाउनेछन्। कम्पनीका अनुसार विभिन्न प्रकारका चामल, विभिन्न प्रकारका दालमा प्रतिकेजी ५ रुपैयाँ छुट पाइनेछ।

त्यस्तै विभिन्न प्रकारका तेल, गेडागुडी, पीठो, मैदा, चिउरा, चिनी, क्वाँटीमा प्रतिकेजी/प्रतिलिटर ७ रुपैयाँ छुट दिइएको छ। यसैगरी कर्णाली सिमी/गेडागुडी, फापर दाना, चिनो, कागुनो, उवा जुम्ली मार्सीमा प्रतिकेजी ७ रुपैयाँ, जिउँदो खसीबोका च्यांग्रा, डीडीसी घ्यूमा प्रतिकेजी १० रुपैयाँ छुट पाइनेछ।कम्पनीले आवश्यकताअनुसार खाद्यान्न परिचालन गर्न ठेक्काको व्यवस्था समेत गरिसकेको जनाएको छ।

१५ सय खसीबोका र ३ सय च्यांग्रा खरिद गर्ने
सुपथ मूल्य पसलका लागि दसैँलाई लक्षित गरी कम्पनीले यस वर्ष १५०० वटा खसीबोका र ३ सय च्यांग्रा गरी १८ सयवटा खरिद गर्ने लक्ष्य राखेको छ। मकवानपुर, तुलसीपुर, मुस्ताङलगायत उपत्यकाआसपास क्षेत्रहरुबाट यी खरिद गरिने कम्पनीले जनाएको छ।

खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथली काठमाडौं परिसरबाट घटस्थापनाको आसपासदेखि कम्तीमा नवमीको दिनसम्म बिक्री गरिनेछ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार