ऋषिमुनिले ५ सय वर्षअघि नै विहार गरेको रिहार धाम सुनसान

पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका-९ स्थित रिहार धाम हिजो आज सुनसान छ । मन्दिरमा दर्शन गर्न मुस्किलले दैनिक एक/दुई जना आउने गर्छन् ।

यो धामको इतिहास हजारौँ वर्ष पुरानो मानिन्छ । द्वापर युगमा ऋषिमुनिहरूले विहार गरेको स्थलका रूपमा रिहार परिचित छ । द्वापर युगमा ग्वालाहरूले गाई चराउने र गाईले बगार बाबालाई दूध चढाउने गरेको धार्मिक विश्वास छ । राजमार्गको दायाँ बायाँमा फैलिएको रिहार धाम १०० हेक्टर क्षेत्रफलमा छ । रिहारमा तीर्थाटनका पर्यटकले बगारबाबाको पूजा गर्छन् । बगारबाबा खुशी भएमा सन्तान र धन सम्पत्ति लाभ हुन विश्वास छ ।

रिहारलाई यादव समुदायले आफ्नो पुर्खाको उदगमस्थल मान्दै आएका छन् । जुन कारणले बगारबाबा क्षेत्र यदुवंशीहरूको साँस्कृतिक धरोहरका रूपमा लिने गरेका छन् । अर्को रिहारमा थारू जातिहरूको पनि संस्कृति जोडिएको छ । थारू जातिले रिहार क्षेत्रमा परापूर्वकालदेखि नै गाई चराउने, गोठ राख्ने र बगारबाबाको पूजाआजा गर्दै आएका छन् ।

रिहार धाम यादव र थारू जाति दुवैको धरोहर हो । रिहारमा द्वापर युगमा दङ्गीशरण राजा र यदुवंशीको बीचमा घोडीको विषयमा विवाद भएको र विवाद मिलाउनलाई कृष्ण भगवान् रिहार आएको किंवदन्ती छ । त्यहाँ तप्तकुण्ड पनि छ, जहाँ सधैँ तातोपानी हुन्छ । मामाभाञ्जी मन्दिर, घ्यू पोखिएको ठाउँ पनि त्यही छ ।

यहाँ बगारबाबासहित भैने पर्शु, मामीसौरी, बराह झाँक्री मन्दिर, गणेश मन्दिर, शिव मन्दिरजस्ता तीर्थाटन पर्यटकका लागि धार्मिक संरचना रहेका छन् । यहाँ अहिले १० लाखको लागतमा उद्यान पनि निर्माण भइरहेको छ ।

यसरी संरचना थपिँदै जाने तर पर्यटक नआउने गर्दा स्थानीय चिन्तित छन् । ‘दिनमा दुईरतीन जनामात्र आउँछन्’, स्थानीय सम्झना चौधरीले भनिन्, ‘कहिल्यै त शून्य हुन्छ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार