सामाजिक सञ्जालले विज्ञापनका लागि प्रयोगकर्ताको डाटा तेस्रो पक्षलाई बेच्ने गरेको खुलासा

सामाजिक सञ्जाल कम्पनीहरूले प्रयोगकर्ताको सम्पूर्ण डाटा संकलन गरेर तेस्रो पक्षलाई बिक्री गर्ने गरेको खुलेको छ । अमेरिकी संघीय व्यापार आयोग (एफटीसी)ले गरेको अध्ययन प्रतिवेदनले यो तथ्य सार्वजनिक गरेको हो ।

एप वा वेबसाइट चलाइरहँदा वा नचलाएकै अवस्थामा समेत विभिन्न सामाजिक सञ्जाल तथा अनलाइन भिडियो कम्पनीहरूले ठूलो मात्रामा प्रयोगकर्ताको विभिन्न विवरण संकलन गर्ने गरेको पाइएको हो । यसमा फेसबुक, ह्वाट्सएप, युट्युब, डिस्कर्ड, रेडिट, अमेजोन, स्न्याप, टिकटक र एक्स (पूरानो ट्विटर) छन् ।

एफटीसीले सन् २०१९ को जनवरीदेखि सन् २०२० को डिसेम्बरसम्मको अवधिमा यी प्लेटफर्मले कसरी डाटा संकलन गर्छन् भनेर हेरेको थियो । बढीजसो प्लेटफर्मले आफ्ना प्रयोगकर्ता कसरी इंगेज भइरहेका छन्, कस्तो कन्टेन्ट र विज्ञापन हेरे भन्ने आधारमा डाटा संकलन गर्ने गरेको पाइएको हो ।

सामाजिक सञ्जाल कम्पनीले प्रयोगकर्ताको व्यापक डाटा संकलन गर्छन् भन्ने तथ्यलाई यसले थप प्रमाणित गरेको बताइएको छ ।

प्रयोगकर्ताको गोपनीयता, डाटाको संरक्षण र नियमनका लागि सामाजिक सञ्जाल कम्पनीले काम नगरेको बताउँदै आयोगले संघीय गोपनीयता सम्बन्धीको कानुनलाई पारित गर्न संसद्लाई आग्रह गरेको छ ।

आयोगले यी कम्पनीलाई प्रयोगकर्ताको डाटा संकलन र सेयरिङ रोक्न, लक्षित विज्ञापन रोक्न र किशोरकिशोरीको संरक्षणमा काम गर्न आग्रह गरेको छ ।

कम्पनीहरूले बसिरहेको स्थान, उमेर, लिंग, आम्दानीको अवस्था, वैवाहिक स्थितिलगायत डाटा संकलन गरी सोहीअनुसार विज्ञापन लक्षित गर्ने गरेको व्यापार आयोगको अध्ययन प्रतिवेदनले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार