कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन

कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन कार्यदल गठन भएको छ । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सत्तापक्षको संयुक्त संसदीय दलको बैठकले न्यूनतम साझा कार्यक्रम तय गर्न ६ सदस्यीय कार्यदल गठन गरेको हो ।

नेपाली कांग्रेस र नेकपा एमालेको कोशी प्रदेश संसदीय दलको संयुक्त बैठकले गठन गरेको कार्यदलमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानासहित नेकपा एमालेको तर्फबाट कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारी र प्रदेश सांसद तिलचन पाठक रहेका छन् ।

यस्तै कांग्रेसको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री भुपेन्द्र राई र संसदीय दलका उपनेता हिमाल कार्की र प्रमुख सचेतक गोपाल तामाङ रहेका छन् ।

कार्यदललाई कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न असोज २३ गतेसम्मको समय दिइएको नेकपा एमाले कोसी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले जानकारी दिए ।

बैठकमा मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता उद्धव थापा, एमाले उपनेता तील कुमार मेयाङ्बो लगायतको उपस्थिति रहेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार