आमाको किरिया बसेका युवक बलात्कार र लुटपाट आरोपमा कोराबाटै पक्राउ

डोटीमा आमाको किरियामा बसेका एक युवक युवती बलात्कार आरोपमा पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल बलात्कार आरोपमा पक्राउ परेका हुन ।

भदौ अन्तिम साता सोही ठाउँकी २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेपछि आरोपीलाई कोराबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले बताए ।

बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँ समेत उनले लुटेको जाहेरीमा उल्लेख छ । घटनापछि रैकाल फरार भएका थिए । शनिबार राति उनकी आमाको निधन भएपछि उनी गाउँ फर्किएका हुन् ।

आइतबार आमाको दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला प्रहरीले बलात्कार आरोपी रैकाललाई नियन्त्रणमा लिएको हो ।

‘हिजो राति जिल्ला सदरमुकाम पुर्याएका छौँ । आज म्याद थपका लागि अदालत पेश गरिन्छ,’ डीएसपी भट्टराईले भने, ‘आरोपीलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान हुनेछ ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार