मेलम्ची खानेपानी आयोजनाका चार भ्रष्टाचारीलाई सुनाइयो कैद सजाय

मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका चार जनालाई सजाय सुनाइएको छ । विशेष अदालतले भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई सजाय सुनाएको हो ।

सो मुद्दामा विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, न्यायाधीशहरु तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले गत भदौ २५ गते अदालतले पूर्व सचिव ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । अदालतले ठाकुरलाई आठ वर्षमा थप एक महिना कैदसहित १० करोड १० लाख जरिवाना गरेको हो ।

यस्तै मेलम्ची खानेपानी आयोजना विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलले पनि १० करोड १० लाख ६१ हजार रूपैयाँ नै भ्रष्टाचार गरेको अदालतको ठहर छ । उनलाई पनि यो बिगो असुल गरी त्यति नै जरिवाना तथा ८ वर्ष कैद सजाय अदालतले सुनाएको छ । उनलाई पनि एक महिना कैद थप सजाय हुने निर्णय अदालतले गरेको छ।

यस्तै अर्का कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले २ करोड ९५ लाख ६५ हजार रूपैयाँ भ्रष्टाचार गरेकाले यो रकम असुल गरी त्यति नै जरिवाना तथा ८ वर्ष कैद हुने अदालतको फैसला छ । उनलाई पनि एक महिना कैद थप सजाय हुने निर्णय अदालतले गरेको छ ।

परामर्शदाता शिवकुमार शर्माले २ करोड ९५ लाख ६५ हजार रूपैयाँ भ्रष्टाचार गरेकोले यो रकम असुल गरी यति नै जरिवाना तथा ८ वर्ष कैद सजाय हुने अदालतको फैसला छ । तर, उनी ज्येष्ठ नागरिक भएकाले २५ प्रतिशतले हुने २ वर्ष कैद सजाय छुट पाएका छन् ।

अभियुक्तमध्ये १७ अभियुक्तमध्ये पूर्वसचिव गजेन्द्र ठाकुरसहित तीन कर्मचारी, एक परामर्शदाता र ठेकेदारलाई दोषी ठहर गरेको छ ।

सोही मुद्दामा पूर्व सचिव भीम उपाध्यायसहित ११ जनाले सफाइसमेत पाएका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार