मुस्ताङका १०३ च्याङ्ग्रा लिएर फरार व्यक्ति पोखराबाट पक्राउ

दसैंमा बिक्री गर्न ठिक्क पारेका १०३ वटा च्याङ्ग्रा पोखरा ल्याएर रकम नदिई भाग्ने मोहम्मद फकिरलाई कास्की प्रहरीले मङ्गलबार पक्राउ गरेको छ । च्याङ्ग्राको रकम ४२ लाख दिनुपर्नेमा नदिई च्याङ्ग्रासहित सम्पर्कविहीन फकिरलाई पोखरा महानगरपालिका वडा नम्बर ४ बाट पक्राउ गरिएको हो ।

रुपन्देहीको शुद्धोदन गाउँपालिका वडा नं. ४ स्थायी घर भई हाल पोखरा महानगरपालिका वडा नं. ७ मासवार बस्ने ५० वर्षीय फकिर अरू दुई जना साथीसहित मुस्ताङ गएका थिए । फकिरले असोज २ गते पोखरा–२५, घट्टेखोलाबाट च्याङ्ग्रा बिक्री गरी अरू नै सवारीमा पठाएको खुलेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिए ।

असोज १ गते निजी कारमा मुस्ताङ पुगेका फकिरले मुस्ताङको बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिका वडा नं. ३ का किसान ताक्ला गुरुङका च्याङ्ग्रा किनेर पोखरा पुगेपछि पैसा दिने सर्तमा ल्याएका थिए । फकिरले मुस्ताङकै किमी छोटेन गुरूङको ग १ ख ५१७४ नम्बरको ट्रक रिजर्भ गरेर च्याङ्ग्रा लोड गरेका थिए । च्याङ्ग्रा धनी ताक्ला गुरुङसमेत पैसा लिन सँगै पोखरा आएका थिए । ट्रकमा निस्सासिएर केही च्याङ्ग्रा मरेका थिए । फकिर र उनका समूह मरेका च्याङ्ग्रा व्यवस्थापन गरेर आउने अनि पैसा दिने प्रस्ताव गरे । यो प्रस्ताव पनि ताक्लाले विश्वास गरेर स्वीकार गरे । तर डेमसाइडको होटलमा बिहानैदेखि फकिरलाई कुरिरहेका ताक्ला दिन बित्नलाग्दा भने रन्थनिए ।

फकिरमाथि कास्की जिल्ला अदालतबाट ६ दिन म्याद थप भएको छ । ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा फकिरमाथि अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार