नेपालको अर्थतन्त्र सुधारोन्मुख, आर्थिक वृद्धि ४.९ प्रतिशत हुने प्रक्षेपण: एडीबी

एसियाली विकास बैंक (एडीबी)ले नेपालको अर्थतन्त्र सुधारोन्मुख रहेको जनाएको छ । बुधबार एसियन डेभलपमेन्ट आउटलुक सार्वजनिक गर्दै एडीबीले चालू आर्थिक वर्षमा ४.९ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

एडीबीले हाल नेपालको आर्थिक वृद्धि ३.९ प्रतिशतको रहेकोमा २०२५ को सेप्टेम्बरसम्म ४.९ प्रतिशत पुग्ने उल्लेख गरेको छ ।

समग्रमा साउथ एसियाकै आर्थिक वृद्धिदरमा सुधार आउने उल्लेख गरेको छ । अहिले ६.३ प्रतिशत रहेकोमा अर्को वर्ष ६.५ हुने आफ्नो रिपोर्टमा उल्लेख गरेको छ ।

आर्थिक वृद्धिदरमा सुधार हुँदा महंगीमा केही बढ्ने उल्लेख गरेको छ । एसियन डेभलपमेन्ट आउटलुक २०२४ (सेप्टेम्बर) का अनुसार वर्ष २०२३/२४ मा नेपालको मूल्यवृद्धिदर ५.४ प्रतिशत रहेको एडिबीको ठम्याइ छ । एडिबीले आफ्नो तथ्यांकमा चालू खाता घाटा चालू वर्ष ऋणात्मक हुने प्रक्षेपण गरेको छ, जबकि आर्थिक वर्ष सन् २०२३/२४ मा ३.९ प्रतिशतले कुल गार्हस्थ उत्पादन (जिडिपी) मा धनात्मक रहेको चालू खाता बचत अर्को वर्ष ०.४ प्रतिशतले ऋणात्मक हुने अनुमान सार्वजनिक गरेको हो ।

सरकारले चालू वर्ष २०८१/८२ को मुद्रास्फीति ५.५ प्रतिशतको अनुमान गरेको छ भने राष्ट्र बैंकले त्यसलाई घटाएर ५ प्रतिशतमा सीमित राख्ने घोषणा गरेको छ ।

कृषि उत्पादनमा सुधार, विद्युत् उत्पादनमा वृद्धिले आर्थिक वृद्धिमा सहयोग पुग्ने बताएका छन् । 

‘जलविद्युत क्षेत्रमा सार्वजनिक लगानी वृद्धि १७.७ प्रतिशत र निजी क्षेत्रको १६.६ प्रतिशतले बढेको छ’, रिपोर्टमा भनिएको छ, ‘सरकारले मौद्रिक नीतिलाई सहजता बनाउँदा व्यवसायीमा कन्फिडेन्स वृद्धि भएको छ ।’

आगामी वर्ष आर्थिक वृद्धिदर बढ्नुमा पुँजीगत खर्चमा वृद्धि हुने, सरकारले मौद्रिक नीतिमा सहजता, आर्थिक क्षेत्रमा सरकारले सुधार गरिरहेकाले १ प्रतिशत बढ्ने अनुमान गरेको छ । 

नेपालको अर्थतन्त्र सुधार हुनुमा पर्यटन क्षेत्र चलायमान हुनुलाई एउटा कारण मानेको छ । २०१९ को तुलनामै पर्यटक नेपाल भित्रिने प्रक्षेपण गरेको छ । २०१९ मा नेपालमा १२ लाख पर्यटक भित्रिएका थिए। २०२३ मा नेपालमा १० लाख पर्यटक भित्रिएकोमा अहिले गत वर्षको तुलनामा बढ्दो छ । 

दोस्रोमा नेपालमा रेमिट्यान्सको आप्रवाह ५ वर्षको तुलनामा बढी रहने उल्लेख गरेको छ । 

भारतको आर्थिक वृद्धिदर ७ प्रतिशत हुँदा दक्षिण एसियामै सकारात्मक प्रभाव पर्ने देखिन्छ । भारतको २०२४ मा ७ प्रतिशत र आर्थिक वर्ष २०२५ मा ७.२ प्रतिशत हुने अनुमान गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार