बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम

आफू सुस्त श्रवण (बहिरा) भएकाले त्यसको पीडा भोग्दै आएकी सुधा गौतमले समाजमा उदाहरणीय कार्यको प्रशंसा हुन थालेको छ ।

उनले आफूजस्तै अरु सुस्त श्रवण भएका बालबालिकालाई शिक्षाको ज्योति दिएर सुन्दर भविष्य कोर्दै आएकी छन् । महोत्तरीको बर्दिबास नगरपालिका–३ की २९ वर्षीया गौतम गौशाला नगरपालिकामा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा १० वर्षदेखि शिक्षिकाको रुपमा कार्यरत छिन् ।

पहिले इशारा (साङ्केतिक भाषा) बाट बहिरा बालबालिकालाई पठनपाठन सुरु गरेकी शिक्षिका गौतमले सुस्त श्रवण कक्षाका विद्यार्थीलाई निरन्तर इशारा र सङ्केतको भरमा शिक्षादीक्षा दिँदै आएकी छन् ।

भूईंमा कार्पेट ओछ्याएर कक्षाभरि पलेटी मारेर पढ्न सक्ने गरी बनाइएको र बेञ्चमाथि कापी, किताब, कलम, पेन्सिललगायतका शैक्षिक सामग्री राखी सबै विद्यार्थी शिक्षिका गौतमले आफ्नो हात, आँखा र अनुहारले देखाएको विभिन्न सङ्केत र इशाराको भरमा पढ्ने गर्छन् ।

बाल कक्षादेखि माध्यमिक स्तरसम्मको पठनपाठनका साथै १० जोड २ र प्राविधिक क्षेत्रमा इञ्जिनियरिङसम्मको पठनपाठन हुने यस विद्यालयमा सुस्त श्रवण भएका विद्यार्थीका लागि पनि विशेष कक्षा सञ्चालन भइरहेको छ ।

करिब दुई हजार विद्यार्थी अध्ययनरत यस विद्यालयमा एकै सिफ्टमा सबै कक्षा तथा विद्यार्थीको पठनपाठन सम्भव नहुँदा दुई सिफ्टमा चलाउनु परेको प्रधानाध्यापक विनोद महतो बताउँछन् ।

कक्षा ११ र १२ को बिहानको अध्यापन सकेपछि १० बजेदेखि माध्यमिक स्तरसम्मको पठनपाठन हुने गर्दछ ।

विद्यालयको एउटा कक्षाकोठामा १६ जना बालबालिकालाई एक्ली बहिरा शिक्षिकाले पढाइरहेकी हुन्छिन् । उनले विशेष शिक्षाअन्तर्गत साङ्केतिक भाषामा कक्षा १ देखि ४ सम्म सर्लाहीबाट र कक्षा ५ देखि १० सम्म रौतहटको चन्द्रनिगाहपुरबाट अध्ययन गरेकी थिइन् ।

कक्षा ११ र १२ को पढाइ पोखराबाट पूरा गरेकी उनले साङ्केतिक भाषामै सिरहाबाट नेपाली भाषामा बीएड सम्मको अध्ययन गरेकी छन् त्यसपछि उनले त्रिभुवन विद्यालयमा बहिरा विद्यार्थीका लागि सञ्चालित विशेष कक्षामा पढाउने जागिर करारमा पाएकी हुन् ।

राम्ररी सुन्न नसक्ने र राम्ररी बोल्न नसक्ने भएकाले उनी र उनका विद्यार्थीलाई बाहिर कहाँ, के भइरहेको छ भन्ने कुरामा खासै चासो हुँदैन । त्यसैले होला सबै विद्यार्थीहरु पठनपाठनमा निक्कै अब्बल र मेधावी रहेका प्रधानाध्यापक महतो बताउँछन् ।

बालबालिकाले कसरी शिक्षिका गौतमको सबै कुरा बुझ्छन् र कसरी उनीसँग इशारा र सङ्केतमै कुराकानी गर्छन् भन्नेमा धेरैलाई अनौठो र आश्चर्य लाग्नसक्छ ।

बालबालिकाहरुले कुराकानी मात्रै नभएर उनको सङ्केत र इशाराकै भरमा आफ्नो अध्ययन अध्यापनलाई पनि अगाडि बढाएका छन् । इशारा र सङ्केतकै भरमा उनीहरु शिक्षिका गौतमले भनेको कुरा लेखेर, गृहकार्य गरेर र कक्षामा प्रस्तुत गरेर पनि देखाउँछन् ।

ती सबै विद्यार्थी कक्षा १ देखि ५ सम्म अध्ययनरत छन् । प्रत्येक वर्ष अन्य छात्रछात्राहरु सरह बहिरा बालबालिकाले पनि परीक्षा दिने र उत्तीर्ण भएर नयाँ कक्षामा जाने गरेको शिक्षिका गौतम बताउँछिन् ।

कक्षाकोठाको चारैतिरको भित्तामा विभिन्न सन्देशमूलक र बालबालिकालाई अध्ययनको लागि उपयोगी हुने चित्र र सङ्केतहरु कोरिएको छ ।

विद्यार्थीहरुले ती चित्र र सङ्केतहरु र आ–आफ्नो कापी किताबको माध्यमले अध्ययन गर्ने गर्दछन् । आफूजस्तै फरक क्षमता भएका विद्यार्थीलाई पढाउन पाउँदा आफू निक्कै खुसी भएको शिक्षिका गौतमले बताइन् ।

शिक्षाको ज्योतिले आफू जस्तै बालबालिकालाई आफूजस्तै संसार हेर्ने र बुझ्ने बनाउन पाउँदा निकै खुसी लागेको उनले लेखेर देखाइन् ।

सुस्त श्रवण (फरक क्षमता) भएका छात्रछात्राहरु सामान्य मानिसभन्दा अलिक फरक हुन्छन् । उनीहरु सामान्य विद्यार्थीभन्दा बढी जिद्धी, झगडालु, चाँडै रिसाउने र भाग्न खोज्ने प्रवृतिको हुने गरेकोले उनीहरुलाई सम्हाल्न निक्कै समस्या र कठिनाइ हुने गौतमले बताइन् ।

अन्य कक्षामा जस्तो वैकल्पिक शिक्षक, शिक्षिका नहुँदा एक्लैले दिनभर पढाउनुपर्दा आफू र विद्यार्थीहरु पनि थकित हुने गरेको उनको भनाइ छ । शिक्षिका गौतमले अरु शिक्षक, शिक्षिका सरह सामान्य परिस्थितिमा बिदा पनि पाउँदिनन् ।

बिरामी वा अन्य कारणले उनी विद्यालय आउन नसकेको दिन ती विद्यार्थीले राम्ररी पढ्न पाउँदैनन् । आफू विद्यालय आउन नसक्ने दिन आफैँले विकल्पको रुपमा अरु शिक्षक ल्याउनुपर्ने र विद्यार्थीलाई पनि सम्झाइबुझाइ जानुपर्ने बाध्यता रहेको शिक्षिका गौतमले बताइन् ।

शिक्षिका गौतमले विद्यार्थीहरु त आफूजस्तै भएकाले उनीहरुसँग बस्न, पठनपाठन गर्न कुनै समस्या नभएको तर विद्यालयमा बाहिरबाट आएका आगन्तुक, अतिथि र अन्य व्यक्तिहरुसँगको संवादको लागि विद्यालयमा बहिरा विद्यार्थी र आफ्नै लागि पनि दोभासेको व्यवस्था गर्नुपर्ने माग गरिन् ।

शिक्षिका गौतम फरक क्षमताका बालबालिकाहरु देशभर नै रहेकाले उनीहरुलाई पढ्ने वातावरण निर्माण गर्न तीनै तहका सरकारहरुले गम्भीरता देखाउनुपर्ने बताउँछन् ।

हाल उनी महोत्तरी जिल्ला बहिरा सङ्घको अध्यक्ष र राष्ट्रिय बहिरा महासङ्घ मधेश प्रदेशको सचिव छिन् । त्यसैगरी राष्ट्रिय बहिरा महासङ्घको केन्द्रीय सदस्य र राष्ट्रिय अपाङ्ग महासङ्घको मधेश प्रदेश सदस्यको रुपमा समेत शिक्षिका गौतम कार्यरत छिन् ।

फरक क्षमताका सवालहरुमा देश विदेशमा आयोजना हुने सभासमारोहमा पनि उनी सहभागी हुँदै आएकी छन् । प्रधानाध्यापक महतोका अनुसार त्यस विद्यालयमा २० वर्षदेखि विशेष कक्षा (सुस्त श्रवण कक्षा) सञ्चालन हुँदै आएको छ ।

उनले अहिलेसम्म यस विद्यालयबाट थुप्रै विद्यार्थीले प्राथमिक शिक्षा पाएर यहाँबाट गइसकेको बताए । यहाँबाट उत्तीर्ण भएका विद्यार्थी सिरहा र सर्लाहीसहितका जिल्लामा जाने गर्दछन् ।

शिक्षिका गौतम जस्तै थप शिक्षक, सुस्त श्रवण भएका विद्यार्थी र शिक्षकलाई बाहिरी व्यक्तिसँगको संवादका लागि दोभासे र उनीहरुको समूचित व्यवस्थापनका लागि आफूले पटक–पटक सम्बन्धित निकायमा माग गरे पनि सुनुवाइ नभएको प्रधानाध्यापक महतोले बताए ।

विशेष कक्षा सञ्चालनका लागि यस विद्यालयमा शिक्षा मन्त्रालयबाट प्रत्येक वर्ष प्रतिविद्यार्थी चार हजार रुपैयाँका दरले प्राप्त हुने गरेको र त्यसै रकमबाट विद्यालयले उनीहरुको आवास, खानपिन, लत्ताकपडादेखि शैक्षिक सामग्रीको व्यवस्थापन गर्दै आएको छ ।

सम्बन्धित समाचार