३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वोच्चमा दायर रिट फिर्ता

नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै दायर भएको रिट निवेदकहरुले फिर्ता लिएका छन् ।

रिट निवेदक मध्येका एक गोविन्द पन्थीले निवेदन फिर्ता लिन भन्दै सर्वोच्चमा निवेदन दिएका थिए । सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको बुधबारको इजलासले माग बमोजिम उक्त रिट निवेदन फिर्ता गरिदिएको छ ।

३० वर्षे सेवा अवधिकै कारण अवकास हुन लागेपछि एसएससपी जीवनकुमार श्रेष्ठसहित २१ जना प्रहरीले जागिर लम्ब्याउन सर्वोच्च पुगेका थिए ।

सुरुमा उनीहरुकै पक्षमा अन्तरिम आदेश आएपनि सर्वोच्चको संयुक्त इजलासबाट ३० वर्षे हटाउने अन्तरिम आदेश खारेज भएको थियो । आफ्नो माग बमोजिम आदेश नभएपछि उनीहरु भदौ १६ गते नै अवकास गइसकेका छन् । अवकासमा गइसकेपछि अब अन्तिम सुनुवाइमा पनि आफ्नो पक्षमा फैसला हुने सम्भावना नदेखेपछि उनीहरुले निवेदन फिर्ता गरेका हुन् ।

भदौ १६ गते ३० वर्षे सेवा अवधिकै कारण ९० जना प्रहरीहरु अवकास भइसकेका छन् । यसअघि नै उमेर हदका कारण हुने अवकास रोक्न माग गर्दै रिट दायर गरेका एआईजी श्यामलाल ज्ञवालीले पनि निवेदन फिर्ता गरिसकेका छन् । उनी पनि भदौ २६ गते नै अवकास भइसकेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार