सुपारी, केराउ र मरिचको आयात खुला

सरकारले औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरिचको आयात खुला गरेको छ । ०७६ चैत २४ गतेबाट आयातमा प्रतिबन्ध लगाइएकामा चालु आर्थिक वर्ष २०८१/८२ मा उत्पादनमूलक उद्योगको कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी सुपारी, केराउ र मरिचको आयात खुला गरेको हो ।

सरकारले निकासी–पैठारी (नियन्त्रण) ऐन, २०१३ को व्यवस्थाअनुसार यी वस्तुको आयातमा बन्देज लगाउँदै थियो । तर, औद्योगिक प्रयोजनका लागि हरेक आर्थिक वर्ष यी वस्तुको आयात खुला गरिने गरिएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए ।

गत वर्षजस्तै यो वर्ष पनि सरकारले राजपत्रमा सूचना प्रकाशन गरी चालु आवका लागि आयात खुला गरेको हो ।

उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि, २०७८’ को प्रक्रिया पूरा गरी आव ०८१/८२ मा औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थका रूपमा यी वस्तु आयात खुला गरिएको सचिव कार्कीको भनाइ छ । यस्ता वस्तु आयाग गर्ने कम्पनीले उद्योग विभागको स्वीकृति लिनुपर्ने उनको भनाइ छ । 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार