भारतीय नागरिकलाई जतिसक्दो चाँडो लेबनान छाड्न ‘एडभाइजरी’

लेबनानमा हिजबुल्लाहलक्षित इजरायलको हवाई हमला तीव्र बन्दै गएपछि त्यहाँस्थित भारतीय दूतावासले आफ्ना नागरिकलाई घरबाहिर ननिस्कन सुझाव दिएको छ।

भारतीय दूतावासले एडभाइजरी जारी गर्दै लेबनानमा रहेका भारतीय नागरिकलाई त्यहाँबाट सकेसम्म बाहिरिन भनेको हो।

लेबनानको राजधानी बेरुतस्थित भारतीय दूतावासले जारी गरेको सूचनामा भनिएको छ- अगस्ट १ मा जारी गरिएको एडभाइजरीलाई निरन्तरता दिँदै र यस क्षेत्रमा हालैका घटनापछि बढ्दो द्वन्द्वलाई ध्यानमा राख्दै भारतीय नागरिकलाई अर्को आदेश नभएसम्म लेबनान यात्रा नगर्न सल्लाह दिइन्छ।

यस्तै लेबनानमा बसोबास गर्ने भारतीयहरूलाई जतिसक्दो चाँडो त्यहाँबाट बाहिर निस्कने प्रयास गर्न भारतीय दूतावासले आग्रह गरेको छ। कुनै कारण लेबनान छाड्न नसक्नेहरूलाई पनि आफ्नो यात्रा सीमित गर्न र बेरुतस्थित भारतीय दूतावाससँग सम्पर्क गर्न सल्लाह दिइएको छ।

भारतीय दूतावासले सम्पर्कका लागि आपत्‌कालीन नम्बर पनि जारी गरेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार